काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीको राजनीतिक समितिको बैठक प्रवेश नगरेको बताएका छन् ।
‘पुराना दलहरु खुम्चिएको र नयाँ दलहरु देखापरेको स्थितिमा हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा पार्टीको राजनीतिक समितिमा छलफल चलिरहेको छ । हामीले सरकारलाई समर्थन त गरेका छौं तर सरकारमा कसरी जाने भन्नेमा छलफल प्रवेश गरिसकेका छैनौं । पार्टीभित्र मतभेद भयो भनेर तपाईं झगडा नलगाइदिनुस् न ऋषिजी । हाम्रो पार्टीमा दुई धार छैन, यो मनगणन्ते कुरा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
जसपा नेता यादवले सरकारलाई विश्वासको मत दिने कुरामा पार्टीभित्र दुबिधा नरहेको पनि औंल्याए । उनले भने, ‘सरकारमा जाने विषयमा राजनीतिक समितिको बैठक उचित र न्यायोचित निर्णयमा पुग्छ । पार्टीलाई राजनीति रुपमा कसरी अघि बढाउने भन्ने तय भएपछि यसको टुंगो लाग्छ । सरकारलाई हामीले समर्थन गरिसकेका छौं, विश्वासको मत पनि दिन्छौं ।’ पार्टीसँग वैचारिक र सैद्धान्तिक एकता भएका शक्तिहरुसँग एकता, मोर्चा र ध्रुवीकरण हुने पनि उनले बताए ।