Logo

प्रचण्डले विश्वासको मत नपाउनु पर्ने कुनै कारण छैन– विष्णु रिजाल (भिडियोसहित)



काठमाडौं, २१ पुष । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले नेपाली राजनीतिको इपीसेन्टरमा केपी शर्मा ओली रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन असफल भएपछि मात्र एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बताएका हुन् ।

‘पाँच दलीय गठबन्धनले निर्वाचनको बेला यो गठबन्धनबाट पन्ध्र वर्ष सरकार चलाउँछौं, बीस वर्ष सरकार चलाउँछौ भनिरहनु भएको थियो । निर्वाचन पछि पनि यही गठबन्धनबाट वैकल्पिक सरकार दिन्छौं भनेर लाग्नु भएको थियो । तर, सरकार गठनमा उहाँहरु असफल भएपछि हामी सरकारमा सहभागी भयो,’ उनले भने ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनु आफूहरुको बाध्यता भएको पनि उनले बताए । ‘हामीसँग बहुमत थिएन । हामीले जनतासँग बहुमत मागेका थियो । जम्मा ७८ सिट पायौं । ७८ सिटले संविधान अनुसार सरकार बन्दैन । नेपाली कांग्रेस हाम्रो प्रमुख प्रतिस्पर्धी दल थियो । उसले अर्को गठबन्धनको नेतृत्व गरेको अवस्थामा त्यो गठबन्धन भत्काउनु, आफ्नो विरुदको घेराबन्दीलाई कमजोर बनाउनु हाम्रो दायित्व हुन्थ्यो । हामीले त्यसै गरेका छौं,’ उनले भने ।

साथै, प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको पाउने पनि उनको दाबी छ । आफूहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेकाले उनलाई सफल बनाउन एमाले तयार रहेको उनले बताए । गठबन्धनमा भएका सहमति कार्यन्वयन गरि सरकारलाई सफल बनाउन एमाले तयार रहेको उनको दाबी छ ।

एमाले संकटको भुमरीबाट बाहिर निस्किएको र देशलाई सरकार विहिन हुनबाट जोगाएर एमालेले देश भुमरीमा फस्नबाट जोगाएको उनले बताए । साथै, नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा लिएर जानका लागि कुनै आपत्ति नरहेको र पार्टी एकीकरण भने नहुने, एमालेमा पार्टी एकीकरणका पक्षमा कुनै छलफल नै नभएको उनको दाबी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्