Logo

गृहमन्त्री लामिछानेको रिटमा सरकारी वकिलहरुको जिकिर– अन्तरिम आदेश आवश्यक छैन



काठमाडौँ,२२ पुष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा परेको रिटमा आज संवैधानिक इलासमा सुनुवाइ जारी रहेको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ जारी रहेको हो ।

संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो । आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस हुने जनाइएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदकको रहेको छ ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रवि अमेरिकाबाट फर्किएर अमेरिकाको नागरिकता त्यागेपनि नेपालको नागरिकता लिने प्रकृयामै नगएकाले उनी सांसद हुन अयोग्य रहेको जिकिर गरे । गृहमन्त्री लामिछानेका तर्फबाट सरकारकारी वकिलले भने अन्तरिम आदेशको कुनै आवश्यकता नरहेको जिकिर गरेका छन् । सरकारको तर्फबाट सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका छन् । लामिछानेले सांसद र मन्त्री पदकोसमेत शपथ ग्रहण गरिसकेकाले अन्तरिम आदेश जारी गर्न नमिल्ने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्