काठमाडौं, पुस २९ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका १५ सडक आयोजना सक्न निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता गराएका छन् ।
समयमै काम नसक्ने प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीलाई उनले ‘निर्माण पूरा गर्न’ निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा सडक निर्माणलगायत सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई बिहीबार मन्त्रालयमै बोलाएर ‘समयसीमा निर्धारण गरी काम सम्पन्न गर्न’ निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार निर्माण कम्पनीसम्बद्ध अधिकारीलाई बोलाएर उपप्रधानमन्त्री श्रेष्ठले ‘काम लिएर समयमा सम्पन्न नगर्ने ठेकेदारबाट निश्चित समयमा पूरा गर्ने लिखित प्रतिबद्धता’ गर्न लगाएका हुन् । प्रतिबद्धता जनाउनेमा प्रधानमन्त्री प्रचण्डका घरबेटी अधिकारीको कम्पनी शैलुङ कन्सट्रक्सनका प्रतिनिधि अनुप अधिकारीसमेत छन् ।
काठमाडौंका ६, भक्तपुरका चार र ललितपुरका पाँच ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर ‘अल्टिमेटम’ दिइएको हो ।
काठमाडौं जिल्लाअन्तर्गत अलपत्र सडकमा तुँदी–प्रेरा जेभी बागडोल ललितपुरले ठेक्का लिएको महांकाल–भृकुटीचोक–तेन्जिङचोक–फैका–आनीगुम्बा–चपली–बूढानीलकण्ठ सडक, दिवा–शैलुंग जेभीले ठेक्का लिएको साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का लिएको आकाशेधारा–राममन्दिर–कृष्णमन्दिर सडक रहेका छन् ।
त्यस्तै, आशिष सीएम जयबाबा जेभीले ठेक्का लिएको सीतापाइला–रामकोट–भीमढुंगा सडक, महालक्ष्मी–वल्र्डवाइड भण्डार धोदुङ जेभीले ठेक्का लिएको पेप्सीकोला–बाह्रखेल सडक, सुनकोसी–प्रजिल जेभीले ठेक्का लिएको मित्रपार्क–गौरीघाट–गुहेश्वरी–नयाँबस्ती–जोरपाटी सडकलगायत छन् । राजधानी दैनिकबाट