Logo

कृषि क्षेत्रमा विचौलियाको अन्त्य हुन्छ– कृषिमन्त्री साह (भिडियोसहित)



काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सरकारले किसानको पक्षमा रहेर काम गर्ने बताएकी छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार किसानको पक्षमा रहेको र कृषि क्षेत्रमा विचौलियाको अन्त्य हुने बताएकी हुन् ।

आफू मन्त्रीमा नियुक्त भएर आएपछि डिजिटल माध्यमबाट विमा, उत्पादनमा जोड, उखुको मुल्यमा वृद्धि लगायतको कामका लागि निर्णय गरिसकेको र अब त्यसलाई कार्यान्वयनमा लैजाने बताइन् । साथै, किसानको मागअनुसार राज्यले थेग्न सक्ने गरी उखुको मूल्यवृद्धि भएको पनि उनको दाबी छ ।

‘मैले किसानकै पक्षमा काम गर्छु भनेर शपथ खाएको छु । भू–माफियालाई संरक्षण गरी किसानलाई अत्याचार गर्ने त्यो कहिले पनि हुँदैन,’ उनले भनिन् । विगतका मन्त्रीले के गरे भन्ने बारेमा आफू जान नचाहेको र आगामी दिनमा किसानको पक्षमा राम्रो वातावरण बनाउने उनले बताइन् । भ्रष्टाचार अन्त्य गर्ने अभियानमा आफू लागेको र भ्रष्टाचारीलाई कहिले पनि राज्यले संरक्षण नगर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

किसानहरु विभिन्न समयमा बीउ विजन र मल नपाएको अवस्था भएपनि त्यसलाई समाधान गर्न आफू लागि पर्ने उनको दाबी छ । नेपालका विभिन्न भूभागमा एरिया अनुसार हुने उत्पादनमा विशेष प्राथमिकता दिने पनि उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सफल प्रधानमन्त्री बनाउने बनाउन आफू लागिपर्ने पनि उनले बताइन् ।  नेकपा (एमाले) मा अहिले कुनै गुट उपगुट नरहेको पनि उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्