Logo

संसद विघटन प्रतिगमन होइन भन्नु संघीयतामाथिको खतरा हो– विमलेन्द्र निधि



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भनेको भन्दै आपत्ति जनाएका छन् । बिहिबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले बेलायत, भारत र नेपालको संसदीय प्रणालीमा केही न केही भिन्नता रहेकाले जतिबेला पनि प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका हुन् ।

‘बेलायतको संसदीय प्रणाली, भारतको संसदीय प्रणाली, नेपालको संसदीय प्रणाली र अरु मूलुकको संसदीय प्रणालीमा केही न केही भिन्नता छ । संविधान निर्माणको बेलामा उहाँ नेताहरुले नै  सरकारको स्थायित्व रहँदैन, प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गरिदिन्छन्, त्यसकारण जबसम्म वैकल्पिक सरकारको सम्भावना रहन्छ कुनै पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन हुदैन भनेर व्यवस्था गरेको म सम्झन्छु,’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीले संघीयता आफ्नो चाहना नभएर बाध्यता भएको बताएको स्मरण गर्दै उनले संसद विघटन प्रतिगमन होइन भन्नु संघीयतामा खतरा आएको बताए । आफूहरुले यिनै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि उनले बताए । कांग्रेसले विश्वासको मत दिँदा खुसियाली मनाउनु पर्ने ठाउँमा चिन्ता व्यक्त गर्नुले ओलीमा गलत आशय देखापरेको पनि उनले दाबी गरे । उनले कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी इश्वरी न्यौपानेलाई मतदान गरी विजयी गराइदिन पनि अपील गरे ।

 



प्रतिक्रिया दिनुहोस्