Logo

गणतन्त्र आइसक्दा पनि मधेशी जनताको जीवनस्तरमा कुनै सुधार छैन- महन्थ ठाकुर (भिडियोसहित)



काठमाडौं, ७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालको संविधान विवादास्पद रहेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले अहिलेको संविधान विवादास्पद भएको कारण नै राजनीतिक स्थीरता हुन नसकेको बताएका हुन् ।

‘यो विवादास्पद संविधान छ । जसले गर्दा नेपालमा अहिलेसम्म राजनीतिक स्थीरता आएको छैन । कतियप संशोधन भएको पनि छ । तर जति हामी चाहन्थ्यौं त्यो भएको छैन,’ उनले भने । साथै, तपाईँ सकृय राजनीति छोडेर राष्ट्रपति बन्न चाहनु भएको हो ? भन्ने प्रश्नमा उनले भने– ‘अहिले नै म निर्णय गर्ने अवस्थामा छैन । राजनीति गर्नेले सत्तामा रहेर जनताको सेवा गर्ने हो ।’

नेपालमा गणतन्त्र आइसक्दा पनि मधेशी जनताको जीवनस्तरमा कुनै सुधार नआएको उनले बताए । अहिले चिसोको समयमा मधेशका जनतासँग घुर ताप्नु बाहेक अर्को कुनै विकल्प नभएको पनि उनले बताए । ‘डेमोक्रेसी आइसकेको छ । चिसोमा मधेशका गरिबहरुसँग घुर ताप्ने बाहेक अरु कुनै उपाय छैन । अहिले पनि उनीहरुको जीवनमा कुनै किसिमको परिवर्तन भएको छैन,’ उनले भने ।

अहिलेका नेताहरुले आफ्नो समस्यालाई नै देशको समस्या बुझेको र आफ्नो हित नै देशको हित भन्ने अहिलेका नेताहरुको मानसिकता भएको उनको दाबी छ । राजतन्त्रको पनि यही गल्ती भएको स्मरण गर्दै उनले अहिलेका नेताहरु सच्चिन आवश्यक रहेको औंल्याए । राजनीतिक स्थिरता नभएका कारण नै सबै कुराहरु अपेक्षाभन्दा बाहिर भइरहेको  उनको दाबी छ ।

साथै, कांग्रेसको समर्थनमा आफू राष्ट्रपतिको उम्मेदवार हुनसक्ने उनले संक्रेत गरे । उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेको खण्डमा एस अथवा नो भन्न सकिने अवस्था आउने बताए । आफू मधेशी जनताको हितकै लागि अहिलेसम्म सबै त्यागेर राजनीतिमा रहेको भन्दै राष्ट्रपतिमा उम्मेदवार बन्दैगर्दा मधेश केन्द्रीत दलको मर्थन रहने पनि उनले संक्रेत गरे ।



प्रतिक्रिया दिनुहोस्