Logo

संविधानले नचिनेको संयन्त्रको प्रमुख हुँ भनेर संविधानमाथि धावा बोल्ने काम भयो– बद्री पाण्डे



काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संविधानले नचिनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको प्रमुख हुँ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि धावा बोलेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानमा नभएको व्यवस्थाका बारेमा बोल्ने अधिकार कसैलाई पनि नभएको बताएका हुन् । एमाले अध्यक्ष ओलीबाट संविधानले नचिनेको संयन्त्रको प्रमुख बनेर कार्यपालिका भन्दामाथि छु भन्नु संविधानमाथिको धावा भएको बताए ।

‘संविधान र संसद्ले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रमुख हुँ भनेर कार्यपालिका भन्दा म माथि छु,  प्रधानमन्त्री त उच्चस्तरीय संयन्त्रको सदस्य मात्र हो भनेर कार्यपालिकामाथि धावा बोल्ने काम भयो,’ उनले भने ।अदालतले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेको स्मरण गर्दै उनले अन्य मुलुकका नजीर र दृष्टान्त देखाएर हाम्रो संविधानलाई धावा बोल्न कसैलाई छुट नभएको उनले बताए ।

कांग्रेसले उपसभामुखमा अघि सारेको उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मत माग्दै उनले मुक्ताकुमारी उपसभामुखमा सबैभन्दा योग्य पात्र भएको दाबी गरे । नेपालको संविधानले परिकल्पना गरेको समावेशिताको सिद्धान्तको आधारमा पनि यादव उपयुक्त पात्र भएको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्