Logo

सदनमा आवाज उठाएँभने बालबालिकाको हितमा कानुन बन्छ भनेर राजनीतिमा आएँ– उपसभामुख राना (भिडियोसहित)



काठमाडौं, ८ माघ । उपसभामुख इन्दिरा राना मगरले महिला तथा बालबालिकाको आवाज सदनमा उठाएको खण्डमा उनीहरुको हितमा कानुन बन्नसक्छ भनेर आफू राजनीतिमा आएको बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समाजसेवामा लाग्दा महिला, बालबालिका र कैदीबन्दीका विभिन्न खाले समस्या देखेको र त्यसको समाधानका लागि राजनीतिमा आउने प्रण गरेको बताएकी हुन् ।

राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा रहेर समाज सेवामा सकृय थिइन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ।असाहय बालबालिका नै आफ्नो परिवार भएको भन्दै उनले उपसभामुख बनिसकेपछि पनि उनीहरुको सेवामै रहने बताएकी छन् । ‘मैले अलिकति मात्रै बालबालिका हेरेर नहुने रहेछ । मैले सदनमै गएर आवाज उठाए भने भोलि नेपालका विभिन्न कुनकन्दराका बालबालिकाको संरक्षणको लागि कानुन बन्ने छ भनेर म राजनीतिमा आए । मैले मन्त्री बनौंला, उपसभामुख बनौंला भनेर कुनै अपेक्षा लिएको थिइन्,’ उनले भनिन् ।

देशका विभिन्न जेलहरुमा भ्रमण गर्दा कैदी बन्दीहरुको विजोग देखेको र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर पनि सोचिरहेको उनले बताइन् । जेलमा रहेका कूल कैदी बन्दीमध्ये करिब ४० प्रतिशत निर्दोष रहेका पनि उनको दाबी छ । ‘जेलमा ४० प्रतिशत निर्दोष छन् भने ४० प्रतिशतलाई प्रयोग गरिएको छ । २० प्रतिशत चाहिँ वास्तविक प्लानर छन्,’ उनले भनिन् । साना–साना बालबालिकालाई जेलमा मात्रै नभएर बाहिरी वातावरणमा पनि उचित शिक्षा र पालनपोषणका माध्यमबाट सुरक्षित समाजको निर्माणमा गर्नुपर्ने उनको धारणा छ । ‘जेलमा मात्र होइन, साना बालबालिकालाई राम्रो शिक्षा दिनुपर्छ भनेर पनि लागेको छु । मैले स्कुल खोलेर सरकारलाई दिएको छु । मलाई बुबाले दिनुभएको जमिन विद्यालय बनाएर सरकारलाई हस्तान्तरण गरेको छु,’ उनले भनिन् । आफूले हुर्काएका करिब २ दुई हजार जना बालबालिका योग्य नागरिक बनिसकेको उनको दाबी छ ।

साथै, संसद्मा तटस्थ र इमानदारिता पूर्वक उपसभामुखको भूमिका निर्वाह गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘माननीय ज्यूहरुले उठाएको मुद्धामा इमानदार र तटस्थ भएर सभामुखको सहकार्यमा संसदलाई मर्यादित बनाउने छु,’ उनले भनिन् । उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्