Logo

सुरक्षाकर्मीकै हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई किन पक्राउ गर्दैन प्रहरी ?



काठमाडौं, ८ माघ । प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी यतिबेला गृह मन्त्रालयको तनावको विषय बनेका छन् । फरार सूचीमा रहेका सांसद कोइरीलाई पक्राउ गर्न सदनमासमेत चर्को आवाज उठ्न थालेको छ । सांसद कोइरी भने पटक–पटक प्रतिनिधिसभा बैठकमा सहभागी भइरहेका छन् । महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले गत पुष ७ मा संसद्मा उपस्थित भएर पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यसैगरी, गत पुष २६ मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा उपस्थित भएर विश्वासको मत दिएका थिए ।

सूरक्षाकर्मीकै हत्या आरोपमा अदालतले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अभियुक्त कोइरीलाई प्रहरीले चिन्दैन कि पक्राउ नगर्न दवाब छ सबैका लागि यो चासोको विषय बनेको छ ।

को हुन् कोइरी ?

कोइरी महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी निर्वाचनको बेला जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्धामा उनलाई उच्च अदालत जनकपुरले राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । घाइते सशस्त्र प्रहरीका सहायक निरीक्षक विकलाई उपचारका लागि जनकपुर लैजानेक्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उच्च अदालतको आदेशपछि उनी प्रहरीको फरार सूचीमा छन् ।

सांसदलाई पक्राउ गर्न कानुनले रोक्छ ?

नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदा पक्राउ गर्न कानुनले रोकेको छैन । ‘संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने छ ,’ संविधानको धारा १०३ (६) मा भनिएको छ ।

घेराबन्दीमा गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रबि लामिछाने फौजदारी अभियोग लागेको सांसद कोइरीका कारण तनावमा छन् । लामिछाने आफैं पनि नागरिकता विवादको मुद्धा खेपिरहेका पात्र हुन । उनको मुद्धाको फैसला नजिकिँदै गर्दा फौजदारी अभियोग लागेका सांसद कोइरी निर्वाधरुपमा संसद्मा आउजाउ गर्दा पनि पक्राउ नगरेको भनी उनी आलोचनाका शिकार बनेका छन् । सांसद कोइरीलाई पक्राउ गरेको खण्डमा उनको मुद्धाको फैसला अपेक्षा गरेभन्दा फरक आउने र पक्राउ नगरे सबैको आलोचना सहनु पर्ने बाध्यतामा छन् गृहमन्त्री लामिछाने । साथै फरार सांसद कोइरीलाई एमालेका शीर्ष नेताहरुको संरक्षणमा रहेको आरोप छ ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्