Logo

एमाले सांसद कोइरीको घटनामा गृहमन्त्रीलाई शक्तिकेन्द्रको दवाब हुनसक्छ– विज्ञानराज शर्मा (भिडियोसहित)



काठमाडौं, ९ माघ । नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले फौजदारी अभियोगमा अदालतले सजाय तोकेकाहरुले चुनाव लड्न पाउने व्यवस्था नै गलत भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मान्छे मारेका अपराधीले चुनाव लड्न पाउने प्रावधान बनेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रहरीको फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ नगरेको प्रसंगमा उनले भने–‘त्यस्तो मान्छे कसरी चुनाव लड्यो ? मान्छे मारेको अपराधी चुनाव लड्न पाउने प्रावधान कसरी बन्यो यो देशमा ? यो विडम्बना हो । यही प्रहरीले अफ्ताफ आलमलाई समातेको होइन ? जेलमा छैनन् अहिले ? प्रहरीले काम गर्न नसक्ने होइन, काम गर्न नदिइएको हो,’ उनले भने । एमाले सांसद कोइरी प्रकाउ नपर्नुमा शक्ति केन्द्रको हात रहेको हुनसक्ने उनले बताए । ‘कुनै शक्तिकेन्द्रले यसलाई नजर अन्दाज गरिदिनुस् है भन्यो । त्यही किसिमबाट बन्दै आएको प्रहरी संगठनभित्र त्यो लागू भयो होला,’ उनले भने ।

गृहमन्त्री गठबन्धनभित्रकै दल भएकाले कोइरीको घटनामा नजर अन्दाज गरिदिन कसैको दवाब हुनसक्ने पनि उनको आरोप छ । अपराधी पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन गर्नु नपर्ने र गृह मन्त्रालयले प्रहरीलाई पत्र लेखेर नै अपराधी समात भनेको आजसम्म आफूलाई थाहा नभएको उनले बताए । ‘अपराधी समात्न गृह मन्त्रालयले निर्देशन दिनै पर्दैन । यो प्रहरीले गर्ने सामान्य काम हो । गृहमन्त्रालयले वक्तव्य बाजी गर्नुपर्ने कुरै होइन । कतिपय कुरा इन्फर्मल्ली टक हुन्छ । गृह मन्त्रालयले लेखेर नै प्रहरीलाई अपराधी समात भनेको मलाई आजसम्म थाहा छैन । यो गृह मन्त्रालयको प्रशासनीक असक्षमता हो । यसले प्रहरीको मनोबल घट्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्