Logo

एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छ– माधव ढुंगेल (भिडियोसहित)



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले एमालेको प्रस्तावबाट नै मुलुकले नयाँ राष्ट्रपति पाउने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने बताएका हुन् ।

‘नेकपा (एमाले) ले प्रस्ताव गरेको मान्छे मुलुकको राष्ट्रपति हुन्छ । एमालेको प्रस्तावभित्र सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, युवराज ज्ञावलीलगायत दर्जनौं मान्छे राष्ट्रपतिको लागि योग्य छन् । यीमध्येबाट एकजना मान्छे फैसला हुन्छ,’ उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कदममा एमालेको हस्तक्षप नभएको उनको दाबी छ । राष्ट्रपति संविधानको रक्षक भएकाले मुलुकको रक्षासँग जोडिएको विषयमा संसद्लाई पुनर्विचार गर भन्ने अधिकार रहेको उनले बताए । ‘संविधानभन्दा माथि राष्ट्रपति हुँदैनन् तर मुलुकको रक्षासँग जोडिएका, संविधानसँग जोडिएका, परराष्ट्र नितिसँग जोडिएका र जनताको जीवनस्तरमा असर पर्ने विषयवस्तुमा संसद्लाई अनुरोध गर्ने र केही समयका लागि थाँती राख्ने अधिकार राष्ट्रपतिलाई छ । उनले भने ।



प्रतिक्रिया दिनुहोस्