Logo

भूकम्पपिडीतको खोलाको किनारमा बास



काठमाडौँ,१८ माघ । गत मङ्गलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नेडा बस्तीमा बढी क्षति भयो ।

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका उक्त परिवारका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेत सकेका छैनन् ।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ । सबै घर बस्नलायक नभएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्