काभ्रेपलाञ्चोक, माघ २४ । बेथानचोक गाउँपालिका वडा नं–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसकेका छन् । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उनले आमाका लागि लौरो बनाउन सुरु गरेका थिए।
उनले वृद्धा आमाले पनौती (माइत)सम्म जाँदा ढोडको लौरो टेकेको देखेर लौरो बनाउन थालेको सुनाउँदै भने, “आमाले लौरो उपहार दिनु जस्तो ठूलो उपकार केही नहुने भन्नुभएपछि अरूका लागि पनि लौरो बनाउन थालेँ ।”
उनको परिचय बदलिएको छ । जिल्लाभरि उनी ‘लौरो बाजे’का नामबाट परिचित छन् । उनले लौरो उपहार पाएपछि चिया खाउँ भनेर खुसी हुँदै केहीले आर्थिक सहयोग गरे पनि अधिकांशलाई आफूले निःशुल्क रूपमा उपहार दिने बताए । लौरो बनाउन सजिलो छैन । निश्चित आकारका बुट्यान चाहिन्छ । वनबाट घर ल्याएर मेसिनको सहायताले काट्ने र चिल्लो बनाउन समय लाग्ने गर्छ ।
लौरो समाउने बिँड हाल्न समय लाग्ने गरेको छ । पहिला लौरो बनाउने काठ सजिलै फेला पथ्र्यो । उनले अब काठ पाउन निक्कै मुस्किल पर्न थालेको सुनाए । “जेनतेन काठ खोजेर लौरो बनाउँदै आएको छु । लौरो पाएपछि ज्येष्ठ नागरिकले दिने आसिकले हौसला मिलेको छ” लौरोबाजे वीरबहादुरले भने, “घरमा लौरो किन बाँड्नु प(यो पनि भन्छन् तर मनले मान्दैन ।”
दुई हजारभन्दा धेरै लौरो वितरण गरेर मानवीय काम गरेको भन्दै उनलाई पहिलो पटक बनेपामा रहेको बुडोल सामुदायिक साकोसले सम्मान गरेको थियो । उनले लौरो चाहिएकालाई लौरो दिन पाउँदा खुसी मिल्ने गरेको अनुभव सुनाउँदै आफूले बनाएको लौरो विदेशसम्म पुगोस् भन्ने चाहना राखे । गोरखापत्र दैनिकबाट