Logo

राजधानी जोड्ने दुई छोटा मार्ग दुई महिना बन्द गरिने



काठमाडौं, माघ २६। प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौं काठमाडौंसँग जोड्ने दुईवटै छोटो दूरीका मार्गमा दुई महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ।

हेटौँडा–भीमफेदी–कुलेखानी–हुमानेभन्ज्याङ–फर्पिङ र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडक निर्माणक्रममा आगामी फागुन १ गतेबाट दुई महिनाका बन्द गरिने भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा भएको सरोकारवाला निकायको छलफलमा दुवै सडक द्रुत गतिमा निर्माण गर्न यो निर्णय भएको छ।

हेटौँडाबाट कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ सडकको भैँसे–भीमफेदीखण्ड र हुमाने–फर्पिङखण्डमा निर्माण भइरहेको छ। यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडकको काठमाडौंतर्फ दक्षिणकाली–रामचन्द्र भन्ज्याङखण्डमा र मकवानपुरतर्फ रामचन्द्र भन्ज्याङ–ज्यामिरेखण्डमा कालोपत्रेसहित सडक स्तरोन्नति भइरहेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

काठमाडौंतर्फ दक्षिणकाली–रामचन्द्र भन्ज्याङखण्डको ७.७५९ किलोमिटर र मकवानपुरतर्फ रामचन्द्र भन्ज्याङ–ज्यामिरेखण्डको रामचन्द्र १२.१५ किमि क्षेत्रमा सडक स्तरोन्नति भइरहेको हो।

मन्त्रालयका प्रवक्ता इन्जिनियर नवीनकुमार सिंहले हेटौँडालाई काठमाडौं उपत्यकासँग जोड्ने छोटो दूरीको दुवै पहुँच मार्गको स्तरोन्नति द्रुत गतिमा सम्पन्न गर्नेक्रममा दुई महिनाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय भएको जानकारी दिए।

दुवै सडकको विकल्पमा हेटौँडातर्फबाट आउने सुमोलगायतका साना सवारी हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ हुँदै थानकोट आउने र काठमाडौंबाट फर्कने सवारीसाधन कान्ति लोकपथबाट आउने व्यवस्था गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्