काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । आज दिउँसो ३ बजेको लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाईएको थियो ।
तर, विशेष कारणवश उक्त बैठक स्थगित् भएको हो । संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री दाहाल अर्को महत्वपूर्ण कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै ओली सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । हिजोमात्रै ओलीसँग प्रधानमन्त्री दाहालले बालकोटमा भेटवार्ता गरेका थिए ।
आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारको संकटमोचनबारे छलफल हुने बताईएको । दुई नेताले नागरिक उन्मुक्ति पार्टीको माग पूरा गराउनेबारे सो दलका नेताहरुसँग प्रतिबद्धता जनाएका थिए ।