काठमाडौं, २७ माघ । जनमत पार्टीका महासचिव चन्दन सिंहले राज्यले नागरिक उन्मुक्ति पार्टीका माग र मुद्दालाई बेवास्ता गरेकाले सुदूरपश्चिम प्रदेश सरकार ढलेको बताएका छन् । आजको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो पार्टीले रेशम चौधरीको रिहाइका लागि आवाज उठाउने पनि दाबी गरे ।
‘सुदूरपश्चिम प्रदेश सरकारको बहिर्गमन नागरिक उन्मुक्ति पार्टीलाई राज्यले उपेक्षा गरेको प्रतिफल हो । अझै पनि सरकार सजग भएको छैन । रेशम चौधरीलाई राजनीतिक मद्दाको समाधान गरेर तत्काल रिहाइ गर्नुपर्छ । राष्ट्रिय समस्यालाई व्यक्तिगत समस्या बनाएर राख्न मिल्दैन । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा हाम्रा प्रतिनिधिले यो आवाज उठाउँछन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले भने ।
उनले मधेस प्रदेशको सरकारले सबैलाई समेटेर लैजान नसकेको आरोप पनि लगाए । सिंहले थपे, ‘मधेस सरकारले पूर्णता त पायो । तर प्रदेश सरकारसँग यसलाई राम्रोसँग अघि बढाउने योजना भएन । न्यूनतम साझा कार्यक्रम समेत ल्याउन सकिएको छैन । गठबन्धनको एजेन्डाअनुसार नहिँडी केही दल बसेर निर्णय हुने गरेको छ । यसले सबैलाई समेटेर जाने सन्देश जनतामा गएन ।’
अब सीके राउत मन्त्री बन्न लागेका हुन् भन्ने पत्रकार धमलाको प्रश्नमा महासचिव सिंहले भने, ‘मन्त्रीको चर्चा हुनु राम्रै कुरा हो । राजनीति भनेको सम्भावनाकै खेल त हो नि । तर तत्काल सरकारमा जाने कुनै राजनीतिक आधार छैन । हुने वा नहुने औपचारिक निर्णय कार्यकारिणीको बैठकबाट हुन्छ ।’
सुदूरपश्चिम सरकार पतनको बाछिटा संघमा पनि पर्न सक्ने उनले औंल्याए । सिंहले भने, ‘सुदूरपश्चिमको बाछिटा काठमाडौंसम्म आउन पनि सक्छ । त्यसको प्रतिफल राष्ट्रपति चुनावमा निस्कन सक्छ । त्यसैले प्रधानमन्त्रीले सजग भएर गठबन्धनलाई राम्रोसँग लानुहुन्छ भन्ने आशा छ । उहाँले सहमतिको वातावरण बनाउन खोज्नुभएको छ ।’ जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीलगायत परिवर्तनकारी शक्तिसँग मिलेर सदन, सडक र सरकारबाट जनताका मुद्दा अघि बढाउने दाबी पनि उनले गरे ।