काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रपतिमा उपयुक्त पात्र चयन नभए गणतन्त्र बदनाम हुने औंल्याएका छन् ।
‘राष्ट्रपति गरिमामय पद हो । गणतन्त्र र राष्ट्रिय एकताको प्रतीक हो । त्यो सरल, सादगी, इमानदार र सर्वस्वीकार्य व्यक्ति हुनुपर्छ । राजनीतिक मानिस भए पनि मेरो र तेरो भन्ने हुनुभएन । मुद्दै मुद्दा हालिने मानिसलाई बनाउनु भएन । अरु पार्टीको सरकारले पठाएको विधेयक जारी गर्दै नगर्ने, आफ्नो पार्टीले गरेको हुबहु गरिहाल्ने व्यक्ति कसरी साझा हुन सक्छ ? राष्ट्रपतिका कारण भोलि गणतन्त्रमा समस्या आयो भन्ने के भन्ने ? राजावादीले टाउको उठाए भने के गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
वरिष्ठ अधिवक्ता समेत रहेका बिडारीले राष्ट्रपति गैराजनीतिक हुन नहुने पनि औंल्याए । राष्ट्रपति संस्थाको गरिमा बुझेर नै प्रचण्डले सहमतिको कुरा गरेको उनले बताए । बिडारीले भने, ‘राष्ट्रपतिको हकमा प्रचण्डले राम्रै कुरा त गर्नुभएको छ नि । राम्रो कुरालाई राम्रो भन्दिनुपर्यो नि । तर यसलाई कांग्रेसको पछि लागेको भनेर बुझ्नु भएन । कांग्रेसले नाइँ नभन्ने, माओवादीले पनि मान्ने पात्र एमालेले प्रस्ताव गरोस् न ।’
‘३२ दिनसम्म एउटा अमेरिकनले गृहमन्त्री भएर शासन गरेछ’
रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने केपी शर्मा ओलीको प्रस्ताव कानुनी शासनको उपहास भएको आरोप पनि बिडारीले लगाए । उनले भने, ‘ओली जत्तिको नेतालाई म जत्तिको मान्छेले आलोचना गर्न अलि नमिल्ला । तर रविलाई फेरि गृहमन्त्री बनाउन खोज्नु ओलीको बेइमानी, बदमासी र राष्ट्रघाती कदम हो । यो कानुनी शासनको उपहास हो ।’
रवि लामिछाने र उनलाई सभापति मान्नेहरुले गृह र रक्षामन्त्री बनाउन नमिल्ने उनको तर्क छ । बिडारीले भने, ‘अहिले रविजी मात्र होइन, उनलाई सभापति बनाउने र मान्ने कोही पनि मानिस गृहमन्त्रालयमा बस्नु हुँदैन । उनका मान्छे रक्षा मन्त्रालयमा पनि बस्न मिल्दैन । ३२ दिनसम्म हामीलाई अमेरिकनले गृहमन्त्री भएर शासन गरेछ । राहदानीजस्तो गम्भीर अपराधमा जाहेरी दरखास्त दर्ता नगर्ने परिस्थिति खडा भएको छ । रवि अमेरिकन नागरिक किन बनेको ? हामीले दरखास्त हाल भनेको हो ? आफैंले हालेको होइन ? अब उनले प्रायश्चित्त गर्नुपर्छ ।’
फरक प्रसंगमा बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण जनताले निकै सास्ती पाएको पनि औंल्याए । उनले भने, ‘नेपालजस्तो गरिब देशकी राष्ट्रपतिले संसारको सबैभन्दा महँगो ३२ करोडको गाडी चढ्नुपर्छ ? बेलायती महारानीजस्तो गरेर हिँड्नुपर्छ ? किन चाहियो हाइफाई ? सकेसम्म आफ्नो देशकै, नभए इन्डियाको सस्तो गाडी चढे हुन्न ? शीतल निवासबाट हिँड्दा १० मिनेटमात्र गाडी रोके हुन्न ? जनतालार्ई सास्ती दिएर, एम्बुलेन्स समेत किन घन्टौं रोक्नुपर्यो ? यसै कारण त जनताले विद्रोह गर्छन् नि ।’