Logo

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान बलियो बन्दै



काठमाडौं, फागुन १। सत्तासिन दल नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । सात दलीय गठबन्धनको सहारामा सरकारको नेतृत्व गरिरहेको माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा प्रतिपक्ष दल कांग्रेस र नेकपा एसले बल थपेका हुन् ।

प्रतिपक्षी दलको समेत विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको अडानलाई गठबन्धन दलका शीर्ष नेताहरुसँग भएको बैठकमा पुनः दोहो¥र्याएका छन् । दाहालले आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा बनाउनुपर्ने अडान कायमै राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर यस विषयमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै सरकार गठनका दिन गरेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जिकिर छाडेका छैनन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका छन् । आइतबार नै पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा विश्वासको मत दिएका दलहरुको भावना समेटेर लैजानुपर्ने आफ्नो दायित्व भएको बताएका थिए । सरकार गठन हुँदा एउटा परिवेश भएको र अहिले आएर राजनीतिक घटनाक्रम फरक ढंगले अघि बढेको बताएको उनको सचिवालयले जनाएको छ ।

विश्वासको मतपछि राजनीतिक परिस्थितिमा हेरफेर आएको बताउँदै उनले भने– ‘विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो । अहिले सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्दै राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ ।’ सोही कारण आफूले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

खास गरी सत्ताधारी गठबन्धनबाट नेकपा एमालेले राष्ट्रपतिको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ । त्यस्तै संसद्को सबैभन्दा ठूलो र प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । यीबाहेक साना राजनीतिक दलहरुले समेत राष्ट्रपतिको दाबी गरेका छन् । दलहरुले आ–आफ्नो दाबी पेस गरिरहँदा सत्ताको नेतृत्व गरिरहेको संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले साझा सहमतिको कुरालाई जोड दिएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले केही दिनयता निरन्तर सहमतिको रटान लगाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्