काठमाडौँ,१ फागुन । बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । यसका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।
बधशाला निर्माण र सञ्चालनमा बाख्रापालक किसानदेखि व्यवसायीसम्म साझेदार छन् । कानुनी हिसाबलेसमेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसबाट बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको विश्वास छ ।
बधशाला विस्तृत सम्झौता भएलगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापनसमेत गर्ने निर्णय भएको उनले सुनाए ।
रुपन्देही मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुङ्गिएकाले छिट्टै नै बधशाला सञ्चालन हुने बताए ।
बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक रू ४७ लाख ३० हजार बुझाउनुपर्नेछ । रासस