Logo

चालक परिवर्तन हुँदा यती एयर दुर्घटना, दुर्घटनाको १४ सेकेन्ड अघि मात्रै कमाण्ड परिवर्तन भएको खुलासा



काठमाडौं, फागुन ४ । गत १ माघमा पोखराको सेती नदी खोँचमा भएको यती एयर विमान दुर्घटनाको कारण पाइलटको कमान्ड परिवर्तन भएको पाइएको छ ।

सरकारद्वारा गठित विमान दुर्घटना जाँच आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा सो विमान दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघिमात्र पाइलट अञ्जु खतिवडाको हातबाट प्रशिक्षकसमेत रहेका पाइलट कमल केसीले कमान्ड लिएको भनिएको छ ।

चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरी दुर्घटना भएको सो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा बिहान १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती नदीको खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्डअघि मात्र विमानका को–पाइलट खतिवडाको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले सो विमानको कमाण्ड सम्हालेका थिए ।

त्यसबेला दुर्घटनामा परेको सो विमानमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ल्यान्डिङ गियर भने सामान्य तरिकाले नै खुलेको थियो । अवतरणका क्रममा पाइलट सिटमा बसेकी अञ्जुले को–पाइलटको सिटमा बसेका प्रशिक्षक पाइलट केसीसँग निरन्तर सुझाव मागेकी थिइन् । उनले विमानलाई निरन्तर देब्रे मोड्ने कि नमोड्ने भनेर सोधेकी थिइन् । जसमा प्रशिक्षक पाइलट केसीले मोड्न अनुमति दिएका थिए ।

त्यतिबेला खतिवडाले विमान अझै तल लैजाने कि नलैजाने भनी सोध्दा केसीले त्यसो नगरी इन्जिनको पावर बढाउन भनेका थिए । तर, इन्जिनमा पावर नआएको थाहा पाएपछि अन्तिम क्षणमा खतिवडाले विमानको कमान्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदनमा भनिएको छ, ‘यो महत्वपूर्ण छ कि पाइलट खतिवडा (पीएफ) ले १० बजेर ५७ मिनेट १८ सेकेन्डमा विमानको कन्ट्रोल पाइलट केसी (पीएम) लाई हस्तान्तरण गरेकी थिइन् भने १० बजेर ५७ मिनेट २० सेकेन्डमा केसीले पनि इन्जिनबाट कुनै शक्ति नआएको बताएका थिए, त्यतिबेला विमान जमिनदेखि ३ सय ११ फिटमात्र माथि थियो ।’

दुर्घटनाका बेला सो विमान धावनमार्गको नजिक पुगिसकेको थियो । काठमाडौंबाट गएको सो विमान अवतरणका क्रममा पोखरा विमानस्थलमा मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला विमानका दुवै इन्जिनका ‘प्रोपेलरहरू’ फेदरमा गएको देखिएको छ । यस अवस्थामा विमान अघि बढ्न सक्दैन । सोही कारण सो विमान दुर्घटनामा परी सेती खोँचमा झरेको थियो ।

यो अवस्था आउनुमा इन्जिनकै खराबी थियो वा मानवीय कमजोरी भयो अथवा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे भने विस्तृत प्रतिवेदनले मात्र देखाउने प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म प्रारम्भिक प्रतिवेदन मात्र तयार पारेको दुर्घटना जाँच आयोगले आगामी अनुसन्धान भने यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन दुर्घटनामा परेको विमानका चालक दलका सदस्यको तेस्रोपटकको उडान थियो । सो विमान भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।

सो विमान १० बजेर ३२ मिनेटमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको थियो । विमान पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३ सय ११ फिटको उचाइमा ओर्लिसकेको अवस्था थियो । त्यतिबेला पोखरा विमानस्थलको ट्राफिक कन्ट्रोलरले सो विमानलाई धावनमार्ग ‘थ्री जिरो’बाट अवतरण गर्न अनुमति दिएका थिए ।

तर, पाइलटले उत्तरतर्फको रनवे ‘वान टु’बाट विमान अवतरण गराउनेगरी अनुमति मागे । यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन । सोहीनुसार एटीसीले अनुमति पनि दिएको थियो । तर, विमान अनुमति लिएको केहीबेरमै दुर्घटनामा परेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्