Logo

शङ्कराचार्य आज काठमाडौँ आईपुग्दै



काठमाडौं, फागुन ४ । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।

तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लागेका हुन् । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार शङ्कराचार्य महाशिवरात्रिको अघिल्लो दिनदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शङ्कराचार्य पूजन महोत्सव कार्यक्रममा सहभागी हुनेछन् । शङ्कराचार्य हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शङ्कराचार्यमध्ये उहाँ सबैभन्दा वरिष्ठ व्याख्याता हुन् ।

उनी आठौँ शताब्दीबाट सुरु भएको मानिने जगतगुरु शङ्कराचार्यका १४५औँ उत्तराधिकारी रहेको कोषले जनाएको छ । शङ्कराचार्यले पहिलो दिन आशीर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रिका अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम आयोजना हुन लागेको हो । नेपाल भ्रमणका क्रममा उनले विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई वैदिक गणितबारे ज्ञान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।

‘यसबाट विश्वविद्यालयका अनुसन्धानकर्ता, विद्यार्थी तथा प्राध्यापकले महाशिवरात्रि पर्व तथा जात्राका साथै आध्यात्मिक, वेद, संस्कार, संस्कृति, मानवचोला तथा वैदिक गणितका विभिन्न विषयमा आचार्यज्यूसँग ज्ञान प्राप्त गर्न सकिने कोषको विश्वास छ । कोषले फागुन ५, ६ र ७ गतेसम्म बिहान ११ बजेदेखि साढे १ बजेसम्म विशेष प्रवचन तथा जगद्गुरुको आशीर्वचन लिन सकिने व्यवस्था गरिएको छ।

साँझ ५ देखि ७ बजेसम्म त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत र काठमाडौं विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीलाई वैदेशिक गणितबारे शैक्षिक ज्ञान दिनुहुनेछ। शङ्कराचार्यका लागि नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ट कक्षमा बस्ने बन्दोबस्त मिलाइएको कोषले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्