काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । आज (शुक्रबार) नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूको दाबी स्वभाविक रहेको बताए ।
शक्ति सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रयास गरिने र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्ने उनको दाबी छ । राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ । उनले कांग्रेसबाट को राष्ट्रपतिको उम्म्दवार बन्ने भन्नेबारे केही खुलाएनन् ।
नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए । उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो ।