काठमाडौं, ६ फागुन । महाशिवरात्रिको अवसरमा दर्शनार्थीहरुलाई गुर्जोको चिया सेवा गरिएको छ । पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न पुगेका भक्तजनहरुलाई आज गुर्जोको चिया सेवा गराईएको अभियन्ता कमलबहादुर राजलवटले जानकारी दिए ।
उनले पछिल्लो समय गुर्जो चियाप्रति उत्साह बढेको सुनाए । उक्त अवसरमा सहयोगीको रुपमा योग गुरु किशोर जोशी, सुरेन्द्र रिमाल, दीपक पाण्डे, हरिकृष्ण कौली, निर्मला चन्द, गीता ओली, देवीराज शर्मा, दधिराम बञ्जाडे, देवकुमारी बञ्जाडेले भक्तजनहरुलाई गुर्जो चियाको सेवा गरेका थिए ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा साँझसम्म दर्शनका लागि लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध थिए ।
महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो ।
महाशिवरात्रिको अवसरमा गोबद्र्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ ।