काठमाडौं, फागुन १० । एलपी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई आजदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।
नेता भण्डारीको उपचार यही ४ फागुनदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । उनलाई मंगलबार राति पाँच लिटर अक्सिजनमा मात्र रिजर्भायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । नेसनल बर्न सेन्टरका डा। सुनिल केशवानीले नेता भण्डारीलाई ‘ईटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको जानकारी दिए ।
नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रूपमा पलाएको तर हातहरूमा अलिअलि मात्र पलाएकाले एक साता अझै हेर्ने अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् । उनलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आईबीसीयूू (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए । राजधानी दैनिकबाट