Logo

माधव नेपाल राष्ट्रपतिको प्रस्तावको पखाईमा : प्रचण्डले दिए वचन, ओलीले के गर्लान् ?



काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म राष्ट्रपतिको लागि कतैबाट पनि प्रस्ताव नआएको स्पष्ट पारेको छ । आज (बुधबार) बसेको पार्टीको सचिवालय बैठकमा सोबारे अध्यक्ष माधवकुमार नेपालले स्पष्टीकरण दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेरै नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको समाचार बाहिरिएका थिए ।

नेपालले ओलीसँग आफूले चार घण्टा लामो छलफल गरेको स्विकारे । तर, सो भेटमा ओलीले आफूलाई राष्ट्रपतिको कुनै प्रस्ताव नगरेको उनको स्पष्टोक्ति छ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिको प्रस्ताव कतैबाट आए त्यसबारेमा आवश्यक गृहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । सम्मानित नेता झलनाथ खनालले पनि अहिलेसम्म आफूहरुलाई राष्ट्रपतिको प्रस्ताव नआएको स्पष्ट पारे । प्रस्ताव आए पार्टीबाट कसलाई अघि बढाउने भन्नेबारे छलफल गरेर निश्कर्षमा पुग्ने उनको भनाई छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा माधव नेपाललाई अघि बढाउने भनेर वचन दिएका छन् । आजको बालुवाटारको भेटवार्तामा पनि ओलीले माधव नेपालको नाम लिँदै ‘यहाँले पनि वचन दिनुभएको माधव नेपालजी’ लाई अघि बढाउने सोच बनाएको छु भन्दै घुमाउरो पाराले प्रस्ताव राखेको बुझिएको छ ।

तर, बालुवाटारनिकट उच्च स्रोतले भने ओलीले माधव नेपालको नाम नलिएको दाबी गरिसकेको छ । उनले आफू अझैपनि एमालेबाटै राष्ट्रपति हुनुपर्ने अडानमा रहेको र आफूहरुबीच सोही सहमति भएको भन्दै सहमति पालनमा इमानदार बन्न दाहाललाई सुझाएका थिए । ओली र दाहालबीच आज गरमागरम वार्ता भएको बुझिएको छ ।

सो क्रममा उनले आफ्नो पार्टीको तर्फबाट भने सुवासचन्द्र नेम्वाङको नाम अघि सारेका थिए । दाहालले भने कुनै ठोस जवाफ नदिएको र आफूले सरकारको नेतृत्व गरेकोले राष्ट्रपतिमा साझा सहमति खाज्ने दायित्व रहेको सुनाएका थिए । प्रधानमन्त्री दाहालले अहिलेकै गठबन्धनमा सामेल हुन माधव नेपाललाई यसअघि नै प्रस्ताव गरिसकेका थिए ।

सो क्रममा उनले सहमतिको रुपमा राष्ट्रपतिमा अघि सर्न आग्रह गर्दै त्यसमा आफ्नो पूर्ण समर्थन रहने वचन दिएका थिए । माधव नेपालले पनि आफूनिकट नेताहरुसँग प्रधानमन्त्री दाहालबाट राष्ट्रपतिको लागि प्रस्ताव आएको सुनाउने गरेका छन् । उनी अब ओलीबाट पनि प्रस्ताव आओस भन्नेमा छन् । आजै साँझ बालुवाटारमा ओली, दाहाल र माधव नेपालबीच भेटवार्ताको लागि एमाले, माओवादी केन्द्र र नेकपा (एस) का दोस्रो तहका नेताहरु सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्