Logo

उपराष्ट्रपतिमा जसपाको दाबी छः प्रवक्ता



काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले राष्ट्रपति र उपराष्ट्रपतिको प्याकेजमा सहमति गर्नुपर्ने बताएका छन् ।
‘हिजो दिनभरि दुई पार्टी र तीन पार्टीबीच छलफल भएको छ । प्रधानमन्त्री, सभामुख, उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष पर्वते समुदायको मात्र भए । अब राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायलाई दिनुपर्छ भन्ने जनता समाजवादी पार्टीको प्रस्ताव छ । त्यसका निम्ति अहिले नै प्याकेजमा सहमति गरौं भनेर लागिरहेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सुमनले भने ।
उनले उपराष्ट्रपतिमा जसपाको दाबी स्वाभाविक भएको पनि बताए । समुनले भने, ‘सबैजसो प्रमुख पदमा पर्वते समुदायका मात्र चुनिएपछि अब मधेसी समुदायको व्यक्तिले पालो पाउनुपर्छ भन्नेमा प्रचण्डजी पनि सकारात्मक हुनुहुन्छ । कांग्रेससँग छलफल गर्न बाँकी छ । जसपाले उपराष्ट्रपति पाउनुपर्छ भन्दा कसैको विमति होला जस्तो लाग्दैन ।’ राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिका आधारमा नै हुने विश्वास पनि उनले व्यक्त गरे ।
उनले जसपा अहिले कुनै पनि गठबन्धनमा नभएको दाबी गरे । सुमनले थपे, ‘एमालेसँग निर्वाचनमा केही सिटमा तालमेल गरेका हौं । एमालेसँगको सहकार्य अहिले जारी छैन ‘। कांग्रेस र एमालेलाई अलग्याएर देश चल्न नसक्ने ठोकुवा गर्दै सुमनले जसपालाई यो वा त्यो उम्मेदवारलाई सघाउन कुनै विदेशीले दबाब नदिएको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्