Logo

नयाँ गठबन्धन बन्न सक्छः माओवादी नेता



काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले नेकपा एमालेलाई आफ्नो पार्टीले धोका नदिएको बताएका छन् ।
‘हामीले कसैलाई धोका दिएका छैनौं । सभामुख, उपसभामुख, सात प्रदेशमा हामीले सहमति अनुसार नै मतदान गरेका हौं । राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनका निम्ति प्रधानमन्त्री प्रचण्ड लागिरहनुभएको छ । सरकारले विश्वासको मत पाएपछि त्यसका निम्ति स्थिति परिपक्व बन्दै गएको छ । एमाले गम्भीर र जिम्मेवार भएर प्रस्तुत हुँदा त्यो गाह्रो पनि छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सापकोटाले भने ।
राष्ट्रिय सहमति बेमौसमी बाजा नभएको उनको जिकिर छ । सापकोटाले भने, ‘राष्ट्रिय सहमति भएन भने शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्रीबीच भए पनि सहमति हुन्छ । अब पुरानो गठबन्धन ब्युँतने भन्ने हुँदैन । नयाँ गठबन्धन बनेर जान पनि सक्छ ।’
तर एमाले सरकार छाडेर सडकमा नजाने विश्वास पनि उनले व्यक्त गरे । सापकोटाले भने, ‘यस्तो भयो भने त उसको सर्मनाक नै हुन्छ । सातै प्रदेशको सरकारबाट बाहिर हुन्छ । यतिबेला एमालेले आवेग र उत्तेजनाभन्दा संयमतापूर्वक नै काम गर्नुपर्छ । हामी एमालेसँगको गठबन्धन कायमै राखेर कांग्रेसलाई गठबन्धनमा ल्याउँछौं ।’
एमालेले औपचारिक रुपमा माधवकुमार नेपालको नाम प्रस्ताव नगरेको पनि उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई हिंसा दिवस भनेकोमा पनि उनले आपत्ति जनाए । सापकोटाले भने, ‘१० वर्षे जनयुद्धको जगमा संविधान बनेको छ । गणतन्त्र आएको छ । ओली दुईपटक प्रधानमन्त्री हुनुभयो । उहाँहरुकै मन्त्रीहरु समावेश भएको मन्त्रिपरिषद्ले जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो नि ।’



प्रतिक्रिया दिनुहोस्