काठमाडौं, १२ फागुन । बालुवाटारमा चार दलको बैठक जारी छ । राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दिने दिनको अघिल्लो दिन नयाँ गठबन्धन बनाउनेगरि दलहरु छलफलमा जुटेका छन् । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को हिजो छुट्टै बसेको बैठकमा राष्ट्रपतिको साझा उम्मेदवारको रुपमा माधव नेपाललाई अघि सार्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि माधव नेपालको नाममा कांग्रेस र एमाले दुवै दलबाट सहमति जुटाउने प्रयत्न गरिरहेका छन् । एमालेले त राष्ट्रपतिमा माधव नेपाललाई नै अघि सार्ने प्रस्ताव गरेका छन् । अहिले बालुवाटारमा चार घण्टादेखि छलफल चलिरहेको छ ।
सो छलफलमा माओवादीबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।
प्रधानमन्त्री दाहालले भने आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने भनेका छ्न । उनले राष्ट्रपतिबारे अहिले कुनै टुँगो लागिनसकेको दाबी गरेका छन् । दाहालले माधव नेपालको नाममा कांग्रेस र एमालेलाई पनि मनाउने कोशिस गरिरहेका छन् । file photo