काठमाडौं, फागुन १३ । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ ।
विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरू राष्ट्रपति पदका लागि एमालेइतरको व्यक्तिको खोजीमा थिए । त्यसअघि नै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भइरहेको बताउँदै आइरहेका थिए ।
तर, बिहीबार र शुक्रबार बिहानबाटै भइरहेका संवादबाट माओवादी केन्द्र राष्ट्रपति पद कांग्रेसलाई दिन तयार भएपछि एमाले–माओवादीसहितका दलको गठबन्धन भत्किएको हो । शुक्रबार बिहान १० पुसअघिको पुरानै गठबन्धन ब्युँताएर कांग्रेसलाई राष्ट्रपति दिन त्यसबखत गठबन्धनमा सामेल दल सहमत भएका हुन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचमा शुक्रबार दिउँसो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो भेटका क्रममासमेत प्रचण्डले राष्ट्रपतिमा सहमतिको अडान लिएपछि एमाले अध्यक्ष ओली निराश हुँदै बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि पुनः १० पुसअघिको कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बालुवाटारमा नै बसेको थियो ।
सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन तयार भएको सुनाएका थिए । ‘बिहीबार र शुक्रबार बिहान साँझ गरी घनीभूत छलफल भयो, राष्ट्रपति कांग्रेसलाई दिएर केन्द्र र प्रदेशको सरकारमा समझदारी गर्नेगरी एउटा तहमा सहमति भएको छ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राजधानीसँग भने ।
शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । योसँगै कांग्रेस नेतृत्वको गठबन्धन आठ दलीय बनेको छ ।
एकीकृत समाजवादीका महासचिव वेदुराम भुषालले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री पदमा प्याकेजमा नै सहमति भएको जानकारी दिए ।
‘राष्ट्रपति कांग्रेसलाई, उपराष्ट्रपति जसपालाई, प्रधानमन्त्री कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो गर्ने सहमति भएको छ, अब कांग्रेसले तोकेको व्यक्ति राष्ट्रपति हुन्छन्,’ नेकपा एकीकृत समाजवादीका महासचिव भुषालले भने ।
भुषालका अनुसार जसपालाई उपराष्ट्रपति दिने सहमति बनेको हो । यसैगरी पहिले दुई वर्ष माओवादी नेतृत्वमै सरकार कायम रहने, त्यसपछि कांग्रेसले र नेकपा एसले डेढ÷डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको हो । राजधानी दैनिकबाट