काठमाडौं, फागुन २० । उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो ।
गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढेको सम्बद्ध निकाय र व्यवसायीको छ ।
चीनमा नेपाली चिया निर्यात गर्ने विषयमा छलफल भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिए । बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले नेपाली चिया निर्यात गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक भएको जानकारी दिए । “सरकार–सरकार (जीटुजी) र व्यवसायी–व्यवसायी (बीटुबी)मार्फत नेपाली चिया चिनियाँ बजारमा जाने प्रक्रियामा कूटनीतिक माध्यमबाट पहल भइरहेको छ । चीनमै भएको प्रतिस्पर्धामा नेपाली चिया उत्कृष्ट देखिएपछि यो सम्भावना झन् बढेको हो,” उनले भने । स्वदेशी चियाको गुणस्तर उत्कृष्ट भई अवार्ड जितेपछि अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न यसले थप सहयोग पु(याएको उनको भनाई छ ।
चिनियाँ बजारमा चिया निर्यात गर्न दूतावास, चाइनिज टी मार्केट एसोसिएसन सकारात्मक भएको उनले जनाए। अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गएकाले निर्यात प्रवद्र्धन लागिएको उनले जानकारी दिए ।
चीनमा भएको सो प्रतिस्पर्धामा उत्कृष्ट पुरस्कार प्राप्त गरेको इलामको तीनजुरे टी फार्मर कोअपरेटिभ सोसाइटी लिमिटेडका व्यवस्थापक पदमबहादुर तामाङले चिनियाँ उपभोक्ताले गोल्डेन ब्ल्याक टी मन पराएको जानकारी दिए। “गुणस्तरमा हामी उत्कृष्ट भयौँ, चिनियाँ व्यवसायी पनि नेपाली चिया आयात गर्न सकारात्मक देखिएका छन् । यसले गर्दा नेपाली चियाको बजार विस्तार गर्न सहज हुन्छ,” उनले भने । यो सहकारी संस्थाले अमेरिका, फ्रान्सलगायतका अन्य देशमा चिया निर्यात गर्दै आएको छ ।
चियाको आन्तरिक खपत न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धनमा जोड दिनुपर्ने तथा खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधान गर्न चीन, रुस, अमेरिका, युरोपेली मुलुकका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्न सके वार्षिक १० अर्ब रुपियाँको निर्यात गर्न सकिने विज्ञले बताएका छन् । गोरखापत्र दैनिकबाट