Logo

टेक्निकल स्कूल चलाउँदै आइएमई समूह



काठमाडौं, फागुन २१ । बैंक, वित्त, बीमा, जलविद्युत्, अटोमोबाइल, पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गरेको देशका ठूलामध्येको एक व्यापारिक घराना आइएमई समूहले एकै छानामुनि सबै किसिमका शीपमूलक तालीम दिने टेक्निकल स्कूल सञ्चालन शुरू गरेको छ ।

आइएमई समूहले प्रवर्द्धन गरेको काठमाडौं टेक्निकल स्कूलले अतिथि सत्कार तथा पर्यटन, वाणिज्य व्यवस्थापन तथा उद्यमशीलता, प्रोफेशनल डेभलपमेन्ट, इन्जिनीयरिङ र स्वास्थ्य विधाका तालीम दिने स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र शर्मा घिमिरेले जानकारी दिए ।

अतिथि सत्कार र पर्यटनअन्तर्गत अतिथि सत्कार व्यवस्थापन, साना होटेल तथा लज सहायक, बारटेन्डर, वेटर, कमर्सियल कुक, बेकर, बरिस्ताको तालीम उपलब्ध छ । बिजनेश म्यानेजमेन्टअन्तर्गत सहकारी म्यानेजर, इन्टरप्राइजेज डेभलपमेन्ट फ्यासिलिटेटर, लाइब्रेरी सहायक, सेल्स पर्सन र बचत तथा ऋण परिचालनसम्बन्धी तालीम दिइने घिमिरेले बताए ।

प्रोफेशनल डेभलपमेन्टअन्तर्गत कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन, इलेक्ट्रिसियन, एलसीडी, एलईडी टेलिभिजन मर्मत, प्लम्बर र टेलिकम टेक्निसियनको तालीम दिइनेछ ।

त्यसैगरी इन्जिनियरिङअन्तर्गत ब्याकहो लोडर अपरेटर, एस्काभेटर अपरेटर र मोबाइल क्रेन अपरेटरको र स्वास्थ्य विधामा केयरगिभरको तालीम उपलब्ध रहेको घिमिरेले जानकारी दिए ।

काठमाडौंको सुकेधारास्थित उक्त स्कूलमा स्किल ल्याबसहितको पूर्वाधार छ । उक्त स्कूलले अतिथि सत्कार र केयर गिभिङसम्बन्धी तालिम शुरू गरिसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्