काठमाडौं, फागुन २६ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को गैरजिम्मेवारपूर्ण कार्यले आज पुनः सर्वसाधारणले दुःख पाएका छन् । प्राधिकरणले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न विहिबार मध्यरातमा निर्देशन जारी गरेपछि यात्राका लागि विमानस्थल पुगेका सर्वसाधारणले दुःख पाएका हुन् ।
विहिबार विहान भैरहवा जान लागेका जहाजको इन्जिनमा आगलागी भएपछि जहाज उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडान गर्न प्राधिकरणले निर्देशनमा उल्लेख छ ।
दुई वटा समाचार संस्थालाई विहिबार राती ११ बजे निर्देशन सहितको पत्र पठाएपनि प्राधिकरणले श्री एयरलाइन्सलाई भने आज विहान मात्रै खवर गरेको छ ।
जहाजको इन्जिनका सुरक्षा जाँचका लागी प्राधिकरणबाट कोहिपनि कर्मचारी विमानस्थल नपुगेपछि यात्रुहरुले विमानस्थलमा नारा जुलुस गर्न सुरु गरेका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफू पोखरामा रहेकाले घटनाबारे जानकारी नभएको भन्दै पन्छिन खोजका छन् । जहाजको इन्जनमा आगलागीको घटना विहिबार विहानको भएपनि बेलुका कार्यालय समयसम्ममा प्राधिकरणले सम्बद्व एयरलाइन्सलाई जानकारी गराएको भए यात्रुहरुलाई अग्रीम जानकारी गराउन सकिने थियो ।
तर प्राधिकरणले राती ११ बजे मात्रै त्यो पनि निकटका सञ्चार माध्ययमहरुलाई गोप्य रुपमा पत्र पठाएपछि आम नागरिकको सूचनाको जानकारी लिन पाउँने अधिकार समेत हनन् भएको छ ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राधिकरणले एयरलाइन्ससँग गरेको सौतेनी व्यवहारले यात्रुले दुःख पाएको जनाए । प्राविधिक परिक्षणका लागि कर्मचारी कार्यालय खुलेपछि मात्रै आउने प्रवृतीले थप सास्ती भोग्नु परेको उनको भनाई छ ।
प्राधिकरणका प्रवत्ता जगन्नाथ निरौलाले प्राधिकरणबाट सहि समयमा सूचना सम्प्रेषण हुन नसक्दा यात्रुले दुःख पाएको स्विकारेपनि आगामी कदमबारे के हुने भन्नेबारे स्पष्ट जवाफ दिन सकेनन् ।