Logo

उपेन्द्रको दलविरुद्ध तीन मधेसवादी दलको कार्यगत एकता



काठमाडौं, फागुन २८ । तीन मधेसवादी दलका बीचमा कार्यगत एकता हुने सहमति भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बीचमा कार्यगत एकता गर्ने शनिबार सहमति भएको छ ।

उनीहरूको कार्यगत एकता उपेन्द्र यादव र उनको दल जसपाविरुद्ध केन्द्रित देखिएको छ । तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीका आधारमा सहकार्य गर्दै कार्यगत एकताका निम्ति सहमति भएको छ ।’

लोसपाका नेता उपेन्द्र महतोले तीन दलका बीचमा कार्यगत एकता गरेर अगाडि बढ्ने र विभिन्न मुद्दामा एकताका साथ अगाडि बढ्ने सहमति भएको बताए । सहमतिपत्रमा तीनै दलका अध्यक्ष ठाकुर, राउत र चौधरीले हस्ताक्षर गरेका छन् ।

शनिबार नै उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । सत्तारूढ गठनबन्धनभित्र रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टी उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान लिए । सोही अडानअनुसार उनीहरूले छुट्टाछुट्टै उम्मेदवारीसमेत दर्ता गराए ।

तीन दलबीच शनिबार नै ‘कार्यगत एकता’ गर्ने सहमतिपत्र सार्वजनिक हुनुले त्यसको उद्देश्य जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाले उठाएको उपराष्ट्रपतिको उम्मेदवारलाई असहयोग गर्नेरूपमा रहेको देखिन्छ ।

जनमतले उठाएको उम्मेदवारलाई लोसपा र नाउपाको साथ, सहयोग र समर्थन रहेको छ । शनिबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसक्दा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापश्चात् समेत सहमतिको प्रयास जारी हुने र उम्मेदवारी फिर्ता लिएर एकमतका आधारमा अगाडि बढ्न सकिने नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।
जसपाले रामसहाय यादव र लोसपा, जनमतसँगै नाउपाले ममता झालाई समर्थन गर्दै उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले महिलालाई मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने बताएपछि जसपाले प्रमिला यादवलाई पनि उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता साझेदार दलले उपराष्ट्रपति आफ्नै गठबन्धन दलबाट चुनिनुपर्ने बताए पनि मधेसी दलबीच एकताको भाव नदेखिँदा उनीहरूका लागि आगामी यात्रा कठिन देखिएको छ । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्