काठमाडौं, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको एउटै उम्मेदवार हुने बताएका छन् ।
‘राष्ट्रपतिमा मिलेर उम्मेदवार बनायौं, तर उपराष्ट्रपतिमा त्यसो हुन सकेन । सत्ता गठबन्धनकै तीनवटा उम्मेदवार बने । जसपाको एउटा उम्मेदवारले फिर्ता लिएपछि दुइटा उम्मेदवार मैदानमा छन् । तीमध्ये जुन उम्मेदवारलाई सत्ता गठबन्धनको बैठकले आधिकारिकता दिन्छ र हामी त्यसलाई नै मतदान गर्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाले भने ।
तपाईंहरुको उम्मेदवार ममता झा कि रामसहायप्रसाद यादव हो भन्ने प्रश्नमा झाले थपे, ‘अहिले नै यो वा त्यो भन्ने अवस्था छैन । हामीले कुनै पनि फोरममा फलानो हाम्रो उम्मेदवार भनेका छैनौं । गठबन्धनमा जति वटा हुन्छ, उम्मेदवारी दिऊँ, पछि एउटालाई आधिकारिक तोकौंला भन्ने समझदारी भएको हो ।’
गठबन्धनले उम्मेदवारी स्पष्ट नपारकाले समस्या आए पनि गठबन्धनमा दरार नआएको उनले बताए । झाले थपे, ‘गठबन्धनमा कुनै विवाद छैन । अब एउटालाई आधिकारिकता दिएपछि नाम फिर्ता लिने वा नलिने सम्बन्धित पार्टीको कुरा हो । हामी गठबन्धनले तोकेको उम्मेदवारलाई नै सहयोग गर्छौं ।’
लोसपा र जसपाबीचको सम्बन्ध सुधार हुन सकेन नि भन्ने अर्को प्रश्नमा झाले भने, ‘सुरुमा हामीले मधेसवादी चार दल मिलेर जान खोजेका हौं । तर जसपा त्यसमा तयार भएन । अब लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी माग र मुद्दामा एक ठाउँमा उभिने कुरा भएको छ । तर कार्यगत एकताको छलफल बाँकी नै छ ।’
लोसपा र जसपाबीच एकताको सम्भावना कम रहेको पनि उनले औंल्याए । झाले भने, ‘विचार र सिद्धान्त मिलेपछि एक ठाउँमा आउने हो । पहिले पनि हामीले भावनात्मक रुपमा एकता गरेका हौं । तर स्कुलिङ फरक भएकाले एक ठाउँमा रहन सकिएन । अब एकता सम्भव छैन ।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल सफल हुने विश्वास पनि व्यक्त गरे । झाले भने, ‘रामचन्द्र पौडेल लोकतान्त्रिक आन्दोलनमा लामो योगदान गरेका अनि गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नेता हो । उहाँ संविधानको रक्षामा अलिकति पनि चुक्नुहोला जस्तो लाग्दैन । विगतका राष्ट्रपतिले जस्तो संविधानको धज्जी उडाउने काम उहाँबाट किमार्थ हुँदैन । आलंकारिक पद भएकाले उहाँसँग धेरै अधिकार छैन । तर संविधानभित्र रहेर काम गर्नुहुने विश्वास छ ।’
पदलोलुप नेताहरुका कारण दल र प्रणालीप्रति नै अविश्वास बढेको झाले औंल्याए । उनले भने, ‘हाम्रा नेताहरु असाध्यै पदलोलुप छन् । रिटायरमेन्ट भन्ने शब्द नै सुन्न चाहँदैनन् । १० चोटि सांसद, १० चोटि मन्त्री, १० चोटि प्रधानमन्त्री किन बन्ने ? दुई पटक राष्ट्रपति भएको व्यक्ति फेरि किन राजनीतिमा आउने ? यस्तै यस्तै पात्र र महत्ताकांक्षाका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको छ । यस्तै भइरहे नेताहरुलाई घिसारेर सडकमा ल्याउने स्थिति आउन सक्छ ।’
मुलुकमा आर्थिक संकटकाल घोषणा गर्ने अवस्था आइसकेकाले अहिलेको सरकारले पनि माखो मार्ने स्थिति नभएको उनको टिप्पणी छ ।