Logo

मन्त्री मोदीको चाहना सहरी वा भौतिक मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग निर्णायक छलफल गरिरहेका छन् । तर, मन्त्रालयमा दलहरुको दाबीका कारण सहमति हुन सकेको छैन ।

शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । त्यही बैठकले मन्त्रालयको भागबण्डा मिलाउने भएको हो । कांग्रेसले ८ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने चर्चा छ । यस्तै, अर्थमन्त्रालयको नेतृत्वमा भने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पुग्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाले नै महतलाई अर्थमन्त्रालयमा पठाउन चाहेका छन् । माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय लिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र जसपा र नेकपा (एकीकृत समाजवादी) ले २÷२ मन्त्रालय पाउने मोटामोटी सहमति छ ।

माओवादीबाट सञ्चारमन्त्रीको भूमिकामा रहेकी रेखा शर्माको जिम्मेवारी यथावत रहने भएको छ । यस्तै, उपप्रधान एवम् भौतिकमन्त्रीको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठ भने गृहमन्त्री बन्ने चर्चा छ । पर्यटनमन्त्री सुदन किराँतीपनि यथावत रहने सम्भावना छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीले भने सहरी वा भौतिकमध्ये एक मन्त्रालयमा जान चाहेका छन् । उनले प्रधानमन्त्री दाहाललाई भेटेरै यस्तो आग्रह गरेको स्रोतको दाबी छ । पार्टीको हिजो बसेको पदाधिकारी बैठकमा दाहालले आफ्नो दलले गृह र सञ्चार मन्त्रालय राख्ने ब्रिफिङ गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्