Logo

रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवविशेष कार्यक्रममा सञ्चारमन्त्री शर्माले भनिन्–‘संक्रमणकालीन न्यायलाई छिट्टै टुँगोमा पुर्याउँछौं’ (भिडिओसहित)



काठमाडौं, १५ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने विश्वास दिलाएकी छिन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । सो अवसरमा उनले सरकारले आज/भोलिभित्रै पूर्णता पाउने पनि दाबी गरेकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री शर्माले सरकारले केही महत्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउने दाबी गरिन् । उनले भनिन्–‘सरकारको सय दिनको अवधि पुग्नपुग्न लाग्दैछ । सरकारले र सम्माननीय प्रधानमन्त्रीज्यूले दुई दुईपटक संसद्मा विश्वासको मत लिने परिस्थिति बन्यो । पहिलोपटक सर्वसम्मतजस्तो बन्यो । नेपालको राष्ट्रिय राजनीति सहमतिको मार्गमा अघि बढ्न खोज्दै थियो । तर, दोस्रो पटक उहाँले विश्वासको मत लिने अवस्था बन्यो, र उहाँले मत पाएको अवस्था छ । अहिले संघद्धीयता कार्यान्वयनको विषय छ। संक्रमणकालिन न्यायलाई टुँगोमा पुर्याउनुपर्नेछ । हामी एक खालको सहमति र संस्कारमा अघि बढनेछौं ।’

उनले युद्धका घट्ना नियतवश नभएको स्पष्ट पारिन् । विद्येयक बनाउँदा आफूहरुले विज्ञहरुका सल्लाह र सुझाव लिएको उनको दाबी छ । उनले भनिन्,‘यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोशिस गरिएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्रीज्यूले जनताको आशा र भरोसा जगाउन सकारात्मक भूमिका खेल्नुभएको छ। सरकार गठन भएको यत्तिका दिन भयो, अहिलेसम्म के काम भयो भन्ने चासोको विषय छ । सरकार गठन भएपछि जनतामा सकारात्मक आशा पलायो, सरकारले केही गर्छ भन्ने भाव जागृत भयो । त्यो नै ठूलो कुरा हो । प्रधानमन्त्री प्रचण्ड तेस्रो कार्यकालमा हुनुहुन्छ । ०६४ मा माओवादी सबैभन्दा ठूलो दल बन्यो । हामी त्यतिवेला राज्य सञ्चालनमा अभ्यस्त थिएनौं । छोटो समयमा दीर्घकालिन महत्वका काम त गर्यौं । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्व कार्यकालमा राम्रा कामको सुरुवात भएको थियो । प्रधानमन्त्रीज्यूले यो ईनिङमा केही गर्नुपर्छ भनेर अठोट गर्नुभएको छ । देश र जनताको पक्षमा, समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । अहिले अर्थतन्त्रको अवस्था सुधार भएको छ । उत्पीडित समूदायको पक्षमा काम भैरहेको छ । किसानको पक्षमा काम भएको छ । उखुको न्यूनतम मूल्य तोकिएको छ । सरकारी सेवामूलक क्षेत्रमा प्रभावकारी काम भएको छ । पासपोर्ट, परिचयपत्र, नागरिकता पाउने काम झन्झटिलो थियो । अहिले ती ठाउँमा त्यस्तो भिड छैन् ।’

उनले संवैधानिक परिषद्सम्बन्धी ऐन अघि बढाईएको बतईन् । उनले गम्भीर मानवअधिकार उल्लंघनका घट्नामा क्षमा नहुने पनि स्पष्ट पारिन् । उनले भनिन्–‘शाही नेपाली सेनाको हिरासतभित्र म पनि शारिरीक र मानसिक यातना भोगेर आएको पात्र हुँ । गम्भीर मानवअधिकार उल्लंघन घट्नामा कानूनतः क्षमा हुँदैन् । पीडितलाईहरुलाई न्याय दिनुपर्छ । अहिले विद्येयक संसद्मा पेश भएको छ । सत्यको निरुपण गर्ने पक्षमा र पीडितले न्याय पाउने विषयमा हामी सबै दल र नागरिकहरु एक ठाउँमा उभिनुपर्छ । त्यसको लागि मिडियाले एउटा वातावरण बनाउनुपर्छ ।’

यस्तै, उनले नेपालमा पछिल्लो समय मिडियाको विकास तिव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको सुनाईन् । उनले भनिन्–‘आम सञ्चार ऐन ल्याउनको लागि हामीले तयारी गरेका छौं । त्यो छिटो ल्याउनुपर्छ । मिडियाका सबै क्षेत्रलाई समेट्नुपर्छ । मिडिया इथिकल हुनुपर्छ । सरकारी मिडियाले सरकारका राम्रा र नराम्रा काममा समर्थन र विरोध गर्ने एउटा पिएसपी विल राष्ट्रियसभामा लगेका छौं । मिडिया काउन्सिलसम्बन्धी ऐन बनिराखेकै छ । त्यसको अन्तिम चरणमा छौं । सरोकारवालाहरुसँगको छलफलपछि मिडियामैत्री वातावरण बनाउँछौं । राजनीति र पत्रकारिता जोडिएको विषय हो ।’

सो अवसरमा मन्त्री शर्माले आफ्नो भारत भ्रमणको बारेमा समेत प्रकाश पारेकी थिईन् । उनी भारतमा हालै सम्पन्न भएको ईन्टरनेश्नल टेलिकम युनियनको एरिया अफिस उद्घाटन कार्यक्रमको लागि नयाँ दिल्ली गएको स्मरण गराईन् ।

उनले भनिन्–‘त्यो कार्यक्रममा यस क्षेत्रका सबै सञ्चारमन्त्रीलाई बोलाईएको थियो । म पनि सहभागी हुन भारत गएको थिएँ । त्यो अफिसको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले गर्नुभयो । औपचारिक कार्यक्रम त्योअनुसार नै समापन भयो । हामी त्यहाँ उपस्थित् भैसकेको सन्दर्भमा त्यस क्षेत्रसँग जोडिएका जतिपनि सञ्चारमन्त्रीहरु थियौं, हाम्रो बीचमा एउटा सामूहिक बैठक बस्यो, उक्त बैठकमा हामी सबैले आईटियुको एरिया अफिस नयाँ दिल्लीमा खोल्ने कुराले हामी सबैलाई खासगरेर हामीले त्यहाँ राखेको कुरा के थियो भने हामीले अहिलेसम्म त्यो काम जेनेभाबाट गर्दथ्यौं, जेनेभाबाट हाम्रो आईटियू एक्सपर्टिज प्रयोग गर्ने कुरा र उनीहरुसँग ट्रेनिङ लिने कुरा हाम्रो जनशक्तिले जेनेभा गएर गर्नुपर्दथ्यो । अब हामीले नयाँ दिल्ली गएर गरे पुग्ने भयो । हाम्रो २ जना जेनेभा पठाउने खर्चले अब १०÷१२ जनालाई दिल्ली पठाएर त्यो काम गर्न सक्छौं । यसमा हामीले खुशी व्यक्त गर्यौं ।’

भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्धिपक्षीय थुप्रै भेटवार्ता गरेको पनि उनले स्मरण गराईन् । सो क्रममा भारतका सञ्चार राज्यमन्त्रीसँग पनि आफूहरुको टिमबीच द्धिपक्षीय छलफल भएको उनको भनाई छ । उनले भनिन्–‘सो क्रममा हामीले हाम्रो सञ्चार मन्त्रालयसँग सम्बन्धित अप्टिकल फाइबर समुन्द्रको तहसम्म जान सकेको छैन्, त्यसको लागि भारतले सहजीकरण गर्नुपर्छ भन्ने कुरा उठाएका छौं । यो काम गर्न सकिए हाम्रो प्रविधि र ईन्टरनेटको क्षेत्रमा एक खालको रुपान्तरण हुन्छ । भारतमा ठूलो संख्यामा हाम्रा नेपालीहरु हुनुहुन्छ । उहाँहरुले नेपालमा टेलिफोन गर्दा महँगो पर्छ, त्यसमा लाग्ने शुल्क कम गर्न सहजीकरण गर्न आग्रह गरेका छौं । त्यहाँ हाम्रा नेपालीलाई सिमकार्डको समस्या छ । उपचार र श्रमको लागि ठूलो संख्यामा नेपालीहरु भारत जानुहुन्छ । अहिले भारतमा भिसाको आधारमा सिमकार्ड दिने चलन रहेछ । नेपालीहरुलाई पासपोर्टको आधारमा पनि सिमकार्ड दिनुपर्छ भनेर प्रस्ताव गरेका छौं । अर्को कुरा, हाम्रा टिभी भारतमा पनि हेर्ने व्यवस्था गर्नुपर्छ । हाम्रा मिडिया पनि भारतले देखाउन सक्नुपर्छ । भारतमा बस्ने नेपालीहरुले हेर्न पाउनुपर्छ ।’

सो अवसरमा मन्त्री शर्माले रिपोर्टर्स क्लब नेपाल र यसका सभापति ऋषि धमलासहित सबै टिमलाई २५औं वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गरिन् । उनले भनिन्–‘म क्लबलाई यस २५औं वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । २५ वर्षको समयमा यहाँहरुले गरेको परिवर्तन, जनताको पक्षमा, लोकतन्त्र र समावेशिताको पक्षमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु । हामी संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक–समावेशिता कार्यान्वयनको चरणमा छन् । क्लबले विगतको जस्तै महत्वपूर्ण भूमिका खेल्ने आशा र अपेक्षा गर्दछु । विगतका सकारात्मक भूमिकालाई संस्थागत गर्दै आगामी दिनमा थप सकारात्मक भूमिका खेल्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्