काठमाडौं, १६ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले क्रान्तिकारी मोर्चा बनाउनतर्फ सम्पूर्ण देशभक्तहरू लाग्नैपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले पछिल्लो समय मुलुकका सामु देखापरेका आर्थिक तथा सामाजिक संकट र चूनौति समाधान गर्नका लागि क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरण आवश्यक भएको बताए ।
आज (बिहीबार) विभिन्न राजनीतिक दल त्यागेर आएकाहरुलाई आफ्नो पार्टीमा स्वागत गर्दै साहले यस्तो बताएका हुन् । सो क्रममा उनले भनेका थिए-“अहिले देशको अवस्था सबैलाई थाहा भएकै छ । देशमा आर्थिक अभाव छ । बजार घट्दै गएको छ, बैंकिङ कारोबारले आम जनजीवन प्रभावित गरेको छ । अर्कोतिर राजनीतिक परिवेश विषम छ । विभिन्न प्रतिक्रियावादी शक्तिहरूको सक्रियता बढ्दै छ, तमाम संकटहरूको समाधानको एउटै विकल्प हो क्रान्तिकारी ध्रुवीकरण । क्रान्तिकारी मोर्चा बनाउनतर्फ सम्पूर्ण देशभक्तहरू लाग्नैपर्छ ।”
अध्यक्ष साह र उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले नेकपाका केन्द्रीय सचिवालय सदस्य विष्णु अधिकारी, ध्रुव बुढाथोकी, पुराना वामपन्थी नेता रामप्रसाद गौतम, नेपाली कांग्रेसका नेता कृष्ण अधिकारीलगायतका नेता तथा कार्यकर्तालाई खादा तथा अविर लगाएर आफ्नो दलमा स्वागत गरेका हुन् ।
तस्विर स्रोत : प्रभु साहको फेशबुक पेज