काठमाडौं, चैत १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिटरब्याज पीडितले आज भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारस्थित निवासमा पुगेका पीडितले प्रधानमन्त्रीसमक्ष मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका छन् ।
छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन्। उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ। अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ।
शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने तयारी छ ।