Logo

प्रचण्डको टाउको दुखाई बन्दै मिटरब्याजी पीडित, एक टोलीलाई पठाए फेरि अर्को टोली आउँदै



काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मिटरब्याजी पीडित समूह टाउको दुखाईको विषय बन्न पुगेका छन्।

विगत केही दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याजी पीडितहरुको एक समूहलाई प्रधानमन्त्री दाहालले जसोतसो गरेर आन्दोलन रोक्न सफल भएको केही दिनमै अर्को समूहले फेरि आन्दोलन गर्ने भनेको छ।

शनिबारमात्रै सरकारले मिटरब्याजी पीडितहरुको एक समूहसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच लिखित सहमति गरेको थियो।

अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धतासहित पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिन पीडितहरु राजी भएका थिए।

सो सहमति भएको भोलिपल्ट अर्थात आज(आइतबार) अर्को समूहले सरकारले गरेको उक्त सम्झौताले मिटरब्याजको समस्या समाधान नगर्ने बताउँदै आफ्नो टोली आन्दोलनका लागि फेरि काठमाडौं आउँदै गरेको बताएको छ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले २० चैतदेखि काठमाडौंमा फेरि निर्णायक आन्दोलन गर्ने बताएको हो।

सो संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहाले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘असोज १ गते हाम्रो संघर्ष समितिसँग यस्तै अन्तर्यको सम्झौता भएको थियो। हाल केवल आयोग गठन गर्ने बुँदा नयाँ छ। आयोग गठनले समस्या समाधान गर्ने छैन, बरु लम्ब्याउने छ। समस्यालाई लम्ब्याउने कुनै पनि सम्झौताले मिटरब्याजविरुद्धको आन्दोलनलाई विश्वस्त बनाउने छैन।’



प्रतिक्रिया दिनुहोस्