Logo

प्रसिद्ध भारतीय चलचित्र निर्देशक डा. द्विवेदीसँग अन्तरक्रिया, सुनाए चाणक्य नीतिको महत्व



काठमाडौं, २० चैत्र । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंले कुपण्डोलस्थित होटल हिमालयमा प्रख्यात भारतीय चलचित्र निर्देशक तथा अभिनेता डा. चन्द्रप्रकाश द्विवेदीसँग एक अन्तरक्रिया गरेको छ।

अभिनेता, चलचित्र निर्देशक एवम् पटकथा लेखक द्विवेदी सन् १९९१ को टेलिभिजन धारावाहिक नाटक ‘चाणक्य’ को निर्देशकका रुपमा सर्वाधिक परिचित छन् । सो धारावाहिक नाटकमा उनले भारतका रणनीतिविद् चाणक्यको भूमिका निर्वाह गरेका थिए ।

चलचित्र ‘पिन्जर’ (२००३), धारावाहिक नाटक ‘उपनिषद गंगा’ (२०१२), ‘सुराज्य संहिता’ (२०१९) र ‘सम्राट पृथ्वीराज’ (२०२२) जस्ता चलचित्रका निर्देशकका रुपमा द्विवेदी परिचित छन् ।

नेपालस्थित् भारतीय दूतावासले जनाएअनुसार सो अन्तरक्रियामा डा. द्विवेदीले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा. आसावरी बापटसँग कुराकानी गर्दै चलचित्र निर्माण र सो क्षेत्रमा आफ्नो तीन दशक भन्दा लामो अनुभव सुनाए ।

उनले कौटिल्य एवम् विष्णुगुप्तको नामले परिचित चाणक्यका नीति तथा दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा नेपालका चर्चित चलचित्र निर्माता तथा निर्देशक, कलाकार, नाट्यकर्मी र मिडिया प्रतिनिधिको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्