रामेछाप, चैत ३१। ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ । आपूmले विश्वास गरेका मान्छेले धोका दिएपछि र फुलासीका फत्तबहादुर कार्की ९४ वर्षको उमेरमा घर न घाटका भएका छन् । गाउँकै शिक्षक छत्रबहादुरको बदमासीले आपूm सुकुम्बासी बनेका फत्तबहादुरको भनाइ छ ।
९४ वर्षको उमेरमा न्याय खोज्न हिंडेका फत्तबहादुरको दुःखको कथा सुरु तरकारी खेती गर्न कृषि विकास बैंकबाट लिएको ५ हजार रुपियाँ ऋणबाट । घर खर्च धानेर मात्रै सुख थिएन फत्तबहादुरलाई । दृष्टिविहीन श्रीमतीको उपचार पनि गर्नु थियो । दृष्टिविहीन श्रीमतीलाई घरमा छोडेर मजदुरी गर्न टाढा जाने अवस्था थिएन । बैंकको ऋण लिएर तरकारी र फलफूल खेती सुरु गरेका फत्तबहादुरले श्रीमतीको उपचार थप ३ हजार सापटी लिए गाउँकै ललितबहादुर पौडेलसँग ।
आम्दानी खासै बढेन । ऋण ८ हजार भयो फत्तबहादुर अत्तालिए । बैंकको ऋण, गाउँलेसँगको सापटी । तरकारी खेतीले गति लिएन । अनि गाउँमै काम खोज्न थाले । श्रीमावी हर्रेचिन्डे मावि फुलासीका शिक्षक छत्रबहादुर खड्काले काम दिए । गाउँकै ‘मास्टर साहेब’कोमा काम पाउँदा फत्तबहादुर दंग परे । छत्रबहादुरले उनलाई घरमा जोत्ने काम लगाए । स्कुल नजिकै किराना पसल थियो । त्यही पसलको भारि बोक्ने काम दिए । सदरमुकामबाट भारी बोकेर पाँच घन्टा उकालो हिँडेपछि पसल पुगिन्थ्यो । प्रतिकेजी ५० पैसा ज्याला पाउँथे फत्तबहादुर । ‘पाँच घण्टाको उकालो बाटो १ सय २० केजीको भारी बोकेर आउँथे । त्यसको ज्याला ६० रुपियाँ पाउँथे,’ फत्तबहादुरले भने ।
किलोको ५० पैसा ज्यालाले नुन–भुटुन त ट¥यो । बैंकको ऋण र गाउँलेसँगको सापटी तिर्न सकेनन् । ऋण नै हो । ब्याज, ब्याजको पनि ब्याज जोडिँदै जाँदा केही वर्षमै फत्तबहादुरले ३६ हजार तिर्नुपर्ने भयो । कृषि विकास बैंक र गाउँले साहुले दुवैले ताकेता गर्न थाले । बैंक र साहुको ताकेताले हैरान भएका उनले ऋण तिर्ने कुनै उपाय भेटेनन् ।
नियमित काम दिएका छत्रबहादुरले फत्तबहादुरलाई ऋण तिर्ने पैसा पनि दिने भए । फत्तबहादुर खुसी भए । आफ्नो नाममा रहेको १ कित्ता जग्गा छत्रबहादुरले आफ्नो नाममा पास गर्नुपर्ने सर्त राखे । ‘तिम्रो नाममा रहेको १ कित्ता जग्गा मेरो नाममा पास गरिदेऊ, मैले दिएको पैसाको सावाँब्याज तिरेपछि म जग्गा फिर्ता गर्छु ।’ ऊ बेला छत्रबहादुरले भनेको कुरा सुनाए फत्तबहादुरले ।
‘मास्टर साहेब’को प्रस्तावले फत्तबहादुर खुसी भए । आफ्नो नाममा रहेको २ कित्तामध्ये १ कित्ता जग्गा छत्रबहादुरको नाममा पास गरिदिए । उनीसँग १० रोपनी १० आना र १४ रोपनी १ आना गरेर २ कित्ता जमिन थियो ।
१४ रोपनी १ आनाको एउटा कित्ता पुख्र्यौली सम्पत्ति थियो भने १० रोपनी १० आना दृष्टिविहीन श्रीमतीको दाइजो पेवाबाट किनेको जमिन थियो । श्रीमतीको दाइजो पेवाबाट किने जमिन पनि फत्तबहादुरले आफ्नै नाममा राखेका थिए । छत्रबहादुरको सर्तअनुसार १० रोपनी १० आना जग्गा पास गरिदिए । ३६ हजार लिए र ऋण चुक्ता गरे । जग्गा बेचेको कुरा उनले श्रीमतीलाई समेत भनेनन् । ‘श्रीमतीले थाहा नपाउँदै भारी बोकेर कमाएको पैसाले जग्गा निखन्छु ।’ उनले सोचे । अक्षरको ‘अ’ समेत नचिनेका फत्तबहादुरले जग्गा बेच्ने बेलामा छत्रबहादुरले जहाँ भन्थे त्यही सही गरिदिएका थिए ।
समय बित्दै गयो । गाउँमा गाडी पुग्यो । गाडी पुगेपछि फत्तबहादुरको भारी मोटरले बोक्न थाल्यो । उनी बेरोजगार भए । ९४ वर्षकी दृष्टिबिहीन श्रीमती खड्कीमाया काम गर्न सक्ने अवस्थामा थिइनन् । दुखजिलो गरेरै भए पनि साथ दिएकै थिए फत्तबहादुरले ।
खड्गीमाया घरमै थिइन् । घर छेउमा होहल्ला सुनिन् । पछि थाहा भयो । ती हल्ला गर्ने मान्छेहरू खड्कीमायाको घर किन्न आएका रहेछन् । फत्तबहादुर आश्चर्यमा परे ।
खास कुरोपछि थाहा पाए । २०६२ सालमा १० रोपनीको एउटा कित्ता मात्र जग्गा बेचेको भन्ठानेका फत्तबहादुरको दुवै कित्ता जग्गा बेचिएको रहेछ ‘मैले त एक कित्ता बेचेको थिएँ दुवै कित्ता बिक्री भइसकेछ । १७ वर्ष पछि पो थाहा पाएँ,’ फत्तबहादुरले भने । फत्तबहादुरको भनाइअनुसार उनी अक्षर चिन्दैन थिए । शिक्षक छत्रबहादुरले जालसाझी गरेर आफ्नो नाममा भएको सबै जग्गा उही बेला पास गरेका रहेछन् । ‘म त १७ वर्ष अगाडि नै सुकुम्बासी भइसकेको रहेछु,’ उनले भने । नागरिक दैनिकबाट