काठमाडौं, चैत २१ । रिक्त रहेका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दलहरूले सोमबार मनोनयन दर्ता गरेसँगै तनहुँ १, चितवन २ र बारा २ को उपनिर्वाचनमा दलहरूबीच ‘हेभिवेट’ बीच भिडन्त हुने भएको छ ।
तनहुँ–२ मा नेपाली कांग्रेसका पुराना नेता गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारलगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, चितवन २ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चितवन २ मा १२ दलका र १२ जना स्वतन्त्र उम्मेदवार गरी २४ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए ।
उता बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, एमाले, जनमतसहितका दल तथा स्वतन्त्र व्यक्ति गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार जसपाको तर्फबाट उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, जनमतबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाल समाचारपत्र दैनिकबाट