काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । अहिले सो प्रदेश सरकारमा एमालेबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । तर, केन्द्रीय सत्ता समिकरणमा फेरबदल आएकोले पार्टी नेतृत्वको निर्देशनम नै एमालेका मन्त्रीहरुले आज राजीनामा दिन लागेका हुन् ।
उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ । मुख्यमन्त्री यादवले भने एमालेले आफू नेतृत्वको सरकारबाट बाहिरिने निर्णय नलिने दाबी गर्दै आएका थिए । उनले देशका अन्य प्रदेशमा समिकरण बदलिएपनि एमाले–जसपा सहकार्य कायमै रहने दाबी गरेका थिए ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा–२ मा एमाले र जसपाले आ–आफ्नो उम्मेदवार उठाएका छन् । एमालेबाट पुरुषोत्तम पौडेल चुनावी मैदानमा छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव आँफै चुनावी मैदानमा छन् । सो क्षेत्रमा मुख्यगरि एमाले र जसपाबीच नै प्रतिष्पर्धा हुने एमाले सचिव रघुवीर महासेठले दाबी गरेका छन् । file photo/ReportersNepal