काठमाडौं, २२ चैत्र । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु आम जनता पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष प्रभु साह र उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा गंगा भण्डारी, राधिका अधिकारी घिमिरेलगायत आजपामा प्रवेश गरेका हुन् ।
पछिल्लो समय मधेश प्रदेशमा आजपाको क्रेज बढ्दो छ । अध्यक्ष प्रभु साहले विकासको नेतृत्व गरेको कारण पनि आजपमा प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ । गत मंसिरको चुनावको मुखमा साहले एमाले परित्याग गरेका थिए । मधेशी जनताको अधिकार खोस्ने र विकास विरोधीसँग केपी ओलीले साँठगाँठ गरेको भन्दै साहले एमाले त्यागेका थिए ।
साहले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दिएका थिए । उनी चौतर्फी घेराबन्दीको बावजुदपनि निर्वाचित भएका थिए । बारा–२ को उपनिर्वाचनमा साहले आफ्नो दलबाट अरुण ज्ञवालीलाई चुनावी मैदानमा उतारेका छन् । ज्ञवाली बारामा लोकप्रिय नेताको रुपमा परिचित छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी सोही क्षेत्रमा चौथो स्थानमा थिए ।