काठमाडौंं, चैत २८ । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पारेका छन् ।
सोमबार मेयर साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गरेको अनौपचारिक कुराकानीमा १४ बुँदे मागको सम्बोधन नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने अडान लिएका हुन् ।
मेयर साहका पूर्वाधारविज्ञ सुनिल लम्सालले गृहमन्त्री श्रेष्ठसंग भएको अनौपचारिक कुराकानीमा कामपाले आफ्नो अडान दोहो¥याएको जानकारी दिए । उनले भने – ‘माग पुरा नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबाबाट फोहोर उठ्दैन । मेयर साहले १४ बँुदामा दिएको जवाफ सरकारको लागि काफी छ ।’
तीन दिनदेखि सिंहदरबारको फोहोर संकलन र ढुवानी हुन नसक्दा मुख्य सचिवको कार्यालयलगायत सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ । फोहोर नउठाएपछि केन्द्रीय सरकार सञ्चालन गर्ने निकाय वरपर थुप्रिएको फोहोर गन्हाएर नाक थुनेर हिडुनुपर्ने अवस्था आएको छ ।
सोमबार फोहोर उठाउने विषयमा विभिन्न निकायसँग अनौपचारिक कुराकानी भए पनि कुनै निष्कर्षमा पुग्न सकेन । आइतबार फोहोर संकलन र ढुवानी गर्ने निकाय परिवर्तन नेपाललाई गृह मन्त्रालय, सिँहदरबारस्थित प्रहरी वृतले फोहोर संकलन गर्न दबाब दिएको थियो । सोमबार मेयर साहले सरकारले महानगरप्रति गरेको व्यवहार खुलाउँदै १४ बुँदे भनाइ जारी गरेपछि भने फोहोर संकलन र ढुवानी गर्न दबाब दिएको छैन ।
यसैबीच कामपाका प्रवक्ता नवीन मानन्धरले वार्ताबाट समस्या समाधान नभएसम्म फोहोर संकलन र ढुवानी नगर्ने स्पष्ट पार्दै भने –‘अहिलेसम्म सरकारले वार्ता गर्न बोलाएको छैन, हामीले पनि कुनै निकायलाई फोहोर संकलन र ढुवानी गर्नु भनेका छैनौ ।’
सिंहदरबारलगायतको विशिष्ट क्षेत्रका फोहोर नउठाउने भनेर महानगरले लिएको अडानको पक्ष र विपक्षमा बहस जारी रहेको बेला मेयर साहले हिजो सोमबार बाध्य भएर १४ बुँदे धारणा सार्वजनिक गरेका थिए ।