Logo

स्मार्टद्वारा लाइसेन्स नवीकरणका लागि ‘उधारो’मा आवेदन



काठमाडौं, चैत २९। अनुमतिपत्रको म्याद सकिन दुई दिन मात्रै बाँकी रहँदा मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले उधारोमा अनुमतिपत्र नवीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएको छ ।

सरकारलाई नवीकरण शुल्क र बक्यौता रकम गरी करिब ३० अर्ब रुपियाँ नतिर्दा स्मार्ट टेलिकमको १० वर्षे अनुमतिपत्र चैत मसान्तमा रद्द हुँदै छ । तर, चैत २८ गते मंगलबार कम्पनीले कुनै शुल्क दाखिला नगरी नवीकरण पत्र दर्ता गराएको छ । यसअघि बक्यौता रकम र नवीकरण शुल्कसहित आवेदन दिनुपर्नेमा जोड दिँदै आएको प्राधिकरणले भने मंगलबार खाली निवेदन दर्ता गराएपछि नवीकरणमा चलखेल हुने आशंका बढेको छ ।

स्रोतले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार बक्यौता रकम आगामी दिनमा तिर्ने प्रतिबद्धता जनाउँदै स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि आवेदन दिएको छ । राजनीतिक र देशको आर्थिक परिस्थिति तथा ग्राहकको भविष्यसमेत उल्लेख गरेर लाइसेन्स थमौतीका लागि आवेदनमा आग्रह गरिएको छ ।

यसअघि सञ्चार मन्त्रालयमार्फत् दिएको आवेदन प्राधिकरणले फिर्ता पठाएको थियो तर मंगलबारको आवेदनका सम्बन्धमा साँझसम्म कुनै निर्णय भएको छैन । स्मार्ट टेलिकमका सञ्चालकहरूले लाइसेन्स नवीकरण गराउन शक्तिकेन्द्रमा धाउँदै आएका छन् । मन्त्रिपरिषद्ले लाइसेन्स नवीकरणका विषयमा निर्णय गर्न सक्ने आशंका रहे पनि मंगलबारको मन्त्रिपरिषद्को बैठकले भने कुनै निर्णय नगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यस विषयमा सञ्चार मन्त्रालयले प्रस्ताव नै पठाएको छैन । तर, स्मार्ट टेलिकमका सञ्चालकहरूको जसरी पनि लाइसेन्स नवीकरण गराउन दौडधुप भने जारी राखेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्