काठमाडौं,१३ वैशाख । वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाल प्रहरीका दुई पूर्व हाकिमहरुलाई नराम्रोसँग चुनावी झट्का लागेको छ । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमै लज्जास्पद हार खाएका पूर्वआइजीपी सर्वेन्द्र खनाल र पूर्व डीआइजी रमेश खरेलले वैशाख १० मा भएको उपनिर्वाचनमा पनि चैनको सास फेर्न पाएनन् ।
मंसिरको चुनावमा आफ्नै नेतृत्वको पार्टी नेपाल शुसासन पार्टीबाट चुनाव लडेका खरेलले काठमाडौं क्षेत्र नं -१ मा तीन हजार १ सय २४ मत ल्याएर पाँचौ बन्दा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १ सय ४३ मतसहित विजयी भएका थिए । काठमाडौं -१ मा खरेलले निर्वाचन जित्न नसकेपनि आफ्नो जमानत भने जोगाएका थिए ।
मंसिरको निर्वाचनमा जनताबाट अनुमोदित हुन नसकेका खरेल उपनिर्वाचनमा पार्टीनै परिवर्तन गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा -२ मा उम्मेद्वार बन्न पुगेका थिए ।
उपनिर्वाचन भएका तीन निर्वाचन क्षेत्रमध्ये चितवन -२ र तनहुँ-१ मा शानदार जित निकालेको रास्वपाले बारा २ मा भने आफ्नो अस्तित्व रक्षा गर्न नसकेको देखिएको छ । बारा -२ मा कुल ६९ हजार २२ मत खसेकोमा ६८ हजार १ सय ९२ मत सदर भएकोमा आफ्नो जमानत जोगाउन उम्मेद्वारले ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
आज विहान सकिएको अन्तिम मतगाणनाको परीणाम अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरि शानदार विजयी हाँसिल गर्दा दोस्रो भएका जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहँदै आफ्नो जमानत जोगाउन सफल भएका एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याउँदा खरेलले जम्मा २ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने व्यक्तिको जमानत जफत हुने व्यवस्था रहेको छ । बारा -२ मा खरेलले ल्याएको उक्त मत कुल सदर मतको जम्मा ४.१४ प्रतिशत मात्रै हो । बारा -२ मा ३४ उम्मेद्वारमध्ये प्रमुख तीन दल नेकपा एमाले,जसपा नेपाल र जनमत पार्टीले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् ।
पार्टी र निर्वाचन क्षेत्र दुबै फेरेका खरेल आफुले गत निर्वाचनमा पाएको मतसमेत घटाउँदै पाँच महिनाको अवधिमा दोस्रोपटक जनताबाट अस्विकृत भए । रमेश खरेलको जस्तै हविगत् हुने अर्का उम्मेदवार हुन् सर्वेन्द्र खनाल । खनाल नेपाल प्रहरीका पूर्व आइजीपीबाट अवकाश पाएपछि एमाले प्रवेश गरेर गएको निर्वाचनमा काठमाडौं -६ मा उम्मेद्वार भएका थिए ।
पार्टीमा लामो समयसम्म योगदान दिएका नेतालाई पन्छाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निगाहाले टिकट पाएको आरोप खेपेका खनाल काठमाडौंमा आएका घण्टीको सुनामीमा पर्दै उपविजेतामा सिमित रहे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शिशिर खनाल १४ हजार २०४ मत ल्याई विजयी बन्दा खनाल ८ हजार ९११ मतमा रोकिँदै निकटतम प्रतिद्धन्द्धी बन्न सफल भए ।
मंसिर ४ को निर्वाचनको हारले रन्थनिएका खनाल पार्टी अध्यक्ष ओलीलाई रिझाउँदै ओलिको पुनः निगाहाले प्राप्त टिकट बोकेर गृहजिल्ला तनहुँ को यात्रामा निस्किएका खनाललाई यो उपचुनाव पनि फलिफापसिद्ध भएन् ।जसरी उनी मंसिरमा काठमाडौंमा आएको घण्टीको हुरीमा बढारिएका थिए ठिक उसँगरी यसपटक पनि तनहुँ -१ मा रास्वपाका उम्मेद्वार डा स्वर्णिम वाग्लेसँग नराम्रोसँग हार खान बाध्य भएका छन् ।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएर निर्वाचित हुँदा खनाललाई भने आफ्नो जमानजतनै जोगाउन हम्मेहम्मे परेको छ । उनले यसपटक जम्मा ८ हजार ४ सय ८८ मत मात्रै प्राप्त गरे जवकी गत निर्वाचनमा तनहुँ -१ का एमाले उम्मेद्वार एक बहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याएर दोस्रो भएका थिए ।
खनालले यो निर्वाचन क्षेत्रबाट जित त हात पार्न सकेनन तर पार्टीले आम चुनावमा पाएको मतसमेत जोगाउन नसकी ५ महिनाको अन्तरालमा मतदाताबाट दोस्रोपटक अस्वीकृत भए ।