Logo

खरबुजाको व्यापारबाट मनग्य आम्दानी



दाङ, १३ वैशाख । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो ।

यी किसान महिला लमही– गढवासडक खण्डको छेउमा खरबुजा र तरकारी बिक्री गर्न लस्करै बसेका हुन्छन् । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरुले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ति किसानका बारीमा खरबुजा लटरम्म फलेका छन् । पुस महिनामा रोपेको यो फल चैतमा तयार हुन्छ ।

लमही नगरपालिका–४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगरखेती गरेका छन् । उनको बगर खेतीमा एउटै खरबुजा आठ किल्लोसम्म तौल भएको फलेको छ । उनले रु ४० प्रतिकिलोका दरले बिक्री गरिरहेका छन् । “अघिल्लो वर्ष ३५ हजार जति आम्दानी गरेको थिए, यो पटक हेरौँ कति हुन्छ”, उनले भने ।

सडक छेउमा बसेर व्यापार गर्ने यहाँका किसानले तरकारीको एउटै मुल्य तोक्ने गरेका हुन्छन । सडकको छेउमा बसेर कम्तिमा पनि तीनहजार देखि माथि आम्दानी गर्ने गरेको किसान हरिलाल चौधरीले बताए । एक घर परिवारले आठदेखि १० कट्ठा सम्ममा बगर खेती गर्ने किसानहरु पनि छन् । उनीहरुले मङ्सिर देखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

मलिलो माटो भन्दा बालुवाको मात्रा बढी भएको जमिनमा यो ‘हिनौना’ फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्रायः थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन । बालुमामा फल्ने भएकोले सिँचाई भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ ।

ठूलो घुम्नाकै पुतली चौधरीले खरबुजा बिक्री गरेर अघिल्लो वर्ष रु १० हजार आम्दानी गरेको बताए । ठूलो घुम्नामा झन्डै दुई सय घरधुरी किसानले बगरमा तरकारी र खरबुजा खेती गरेका छन् । राति अन्य गाउँबाट मान्छेहरु आएर चोरेर लग्दिने भएकोले खरबुजाको मौसम नसकिँदासम्म स–साना झुप्रो बनाएर पुरुष भने बगरमै सुत्ने गर्दछन् । रासस



प्रतिक्रिया दिनुहोस्