काठमाडौं,१३ वैशाख । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बारे सदनलाई जानकारी गराउन माग गरेकी छन् ।
आजको (बुधवार)बैठकमा बोल्दै पूर्व परराष्टमन्त्रीसमेत रहेकी पौडेलले नेपालमा कुन-कुन रोगको उपचार हुँदैन र त्यसलाई सुधार गर्न के-के गर्नुपर्ने हो यसबारेमा सरकारले गम्भिर भएर सोच्नु जरुरी छ ।
उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? अनि उहाँको सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ । वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ । हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन ? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा ध्यानाकर्षण गराएँ ।’